भैरहवा–रुपन्देहीमा राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन गर्ने कार्य शुरु भएको छ। नेपालमा बस्ने सबै नागरिकको वैयक्तिक विवरण राष्ट्रिय तथ्यांक भण्डारमा समाविष्ट गर्ने र जनतालाई प्रवाह गर्ने सेवा सुविधालाई एकीकृत प्रणालीबाट एक परिचयपत्र मार्फत प्रणाली विकास गर्न परिचय पत्र तथ्यांक लिने कार्य शुरु गरिएको हो।
‘राष्ट्रिय परिचयपत्र बितरणका लागि आज बिहीबारबाट तथ्यांक लिने कार्य शुरु गरेका छौं, नागरिकले पाउने सेवा सुविधा सहज र छिटो प्राप्त गर्नका लागि सहयोग पुर्याउने बहुउपयोगी कार्डका रुपमा राष्ट्रिय परिचयपत्र प्रयोग हुने भएकोले सोही परिचयको पत्रका लागि तथ्यांक संकलन कार्य शुरु गरिएको हो’–प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।
नेपाल सरकारले २०७५ मंसीरबाट सिंहदरबार र पाँचथरबाट राष्ट्रिय परिचय पत्र वितरणको शुरुवात भएपनि सरकारको नीतिअनुरुप यो वर्षदेखि सबै जिल्लामा सुरुवात गर्न लागिएको उनले बताए।
‘आजदेखि रुपन्देहीमा पनि तथ्यांक संकलन सुरु गरिएको हो’–प्रमुख जिल्ला अधिकारी पन्थले लुम्बिनी टाइम्ससँग भने।
यो वर्ष सरकारले एक करोड नागरिकको डाटा संकलन गर्ने लक्ष्य लिएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीको तथ्यांक लिएर आजबाट सेवा सुरु भएको कार्यालयले जनाएको छ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जारी गर्ने यो परिचय पत्रमा नागरिकताको विवरणसहित अन्य उपयोगी विवरणहरु परिचय पत्रमा समावेश हुन्छन्।
व्यक्तिको राष्ट्रिय परिचय पत्र, मतदाता परिचय पत्र, जग्गा जमिन र अन्य सम्पतिको अभिलेखका रूपमा, बैंकिङ कारोवारको अभिलेख, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा यो परिचय पत्रको उपयोग गर्न सकिन्छ।
१० वटा डिजिटल नम्बर रहेको परिचय पत्रले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्नुका साथै नेपाली, गैरआवासीय नेपाली तथा विदेशीको तथ्याङ्कलाई यकिन गर्न मद्दत पुग्ने सरकारको विश्वास छ। नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति–पत्नीको नाम, औंठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगानासमेत कार्डमा उल्लेख हुनेछ।
यो परिचय पत्र दीर्घकालका सबै नागरिकका लागि बनाउन लागिएपनि हाललाई नागरिकता पाएका नागरिकको तथ्यांक लिई जारी गर्ने व्यवस्था रहेको कार्यालयले जानकारी दिएको छ।
तत्काल जिल्ला प्रशासन कार्यालयबाट तथ्यांक संकलनको काम शुरु भएको छ। २ वटा संकलन स्टेशनबाट अहिले सेवा शुरु भएपनि प्रभावकारिताको आधारमा केन्द्रले ठाउँ ठाउँमा संकलन केन्द्र स्थापना गर्नेछ। तथ्यांक भरेको केही दिनपछि परिचय पत्र डिजिटल प्रिन्ट भएर आउने व्यवस्था मिलाइएको छ।