कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा १ बालविवाह तथा छुवाछुत मुक्त वडा घोषणा भएको छ । जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले एक समारोहबीच घोषणा गर्नुभएको हो ।
समारोहमा बोल्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बालविवाह तथा छुवाछूतले सामाजिक विकास असर गर्ने हुँदा यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।
जनप्रतिनिधि तथा सरोकारवाला सङ्घ संस्थाले बालविवाह र छुवाछूत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य गर्ने प्रतिबद्धता गरेका थिए । ‘कुनै पनि धार्मिक परम्परामा मानवलाई भेदभाव गर्न नहुने उल्लेख गरिए पनि समाजका उच्च वर्गबाट जातीय भेदभावको प्रचलन ल्याएको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले बताउनुभयो ।
शुद्धोधन गाउँपालिका –१ को वडा कार्यालय, बालविवाह तथा छुवाछूतविरुद्धको निगरानी समिति तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको अगुवाइमा बालविवाह तथा छुवाछुतमुक्त वडा घोषणा भएको हो ।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष, निवर्तमान गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य लगायतका जनप्रतिनिधिले संयुक्त रूपमा हस्ताक्षर गर्दै शुद्धोधन गाउँपालिकाको वडा १ लाई बालविवाह तथा छुवाछुत मुक्त घोषणा गरेका छन् ।