बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सूर्तिजन्य पदार्थ र प्लाष्टिकको झोला बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
नगरपालिका कार्यालयले आज गुटका प्रकृतिका सूर्तिजन्य पदार्थको बिक्री वितरण नगर्न ३५ दिने र कालो प्लाष्टिक कालो प्लाष्टिको झोलाको बिक्रीवितरण नगर्न १५ दिने छुट्टाछुट्टै सार्वजनिक सूचना प्रकाशित गरेको छ ।
गुटका प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सो बाट निस्कने फोहरले नगरको सौन्दर्यतामा प्रतिकुल असर पारेको भन्दै नगर कार्यपालिकाको बैठकले रोक लगाउने निर्णय गरेको हो ।
नगरमा अझै पनि कालो प्लाष्टिको झोला प्रयोग भएको पाइएकाले बिक्रीवितरणमा रोक लगाउने निर्णय कार्यपालिकाले गरेको हो । नगरपालिकाले सूर्तिजन्य पदार्थको बिक्री र कालो प्लाष्टिको झोला बिक्रीवितरण तथा प्रयोग गरेको पाइएमा कारबाही गर्ने नगरपालिकाका सूचना अधिकारी देवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
बिक्रीवितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई ५ हजार जरिवाना गरिने नगरपालिकाले जनाएको छ ।