बुटवल । प्रहरी हिरासतमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ७ जनालाई तुरुन्त रिहा गर्न माग गरिएको छ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको क्षेत्रमा क्रियाशील संघसंस्थाले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीयबाट कुटपिटमा परेका आफ्ना नागरिकलाई न्याय दिनुको साटो पक्राउ गरेर प्रहरीले उल्टै अन्याय गरेको बताए ।
गत आइतबारको घटनाको सार्वजनिक भएको भिडियोमै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथि स्थानीयले कुटपिट गरेको स्पष्ट देखिएकाले प्रहरीले पिडकलाई कारबाही गर्नुको साटो पीडितलाई पक्राउ गरेको गुनासो गरे ।
“प्रहरीकै अगाडि हाम्रो समुदायका व्यक्तिमाथि कुटपिट भएको छ तर, प्रहरीले न्याय दिनुको साटो उल्टै थुनामा राखेको छ”, मानव अधिकार परियोजना सदस्य अवान्तिका घर्तिले भन्नुभयो ।
कसले के उजुरी हाल्यो र के का आधारमा पक्राउ गरियो भन्ने जानकारी पाउनु आफ्नो समुदायको अधिकार भएको बताउँदै उहाँले यसबारेमा प्रश्न गर्दा प्रहरीले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउनुभयो ।
“यदी उनीहरुले गल्ती गरेका रहेछन् भने कारबाही हुनुपर्छ तर, के गल्ती गरे भन्ने अहिलेसम्म ईलाका प्रहरीले केही भनेको छैन । भिडियो हेर्दा उनीहरु माथि नै कुटपिट गरिएको छ”, घर्तीले भन्नुभयो । कुटपिट गर्नेहरु विरुद्ध उजुरी लिन समेत प्रहरीले नमानेको उनीहरुको गुनासो छ ।
“प्रहरीले होटल व्यवसायीको गुनासो आएपछि पक्राउ गरिएको भन्छ तर, होटल संघका अध्यक्षलाई बुझ्दा हामीलाई जानकारी छैन भन्ने जवाफ आउँछ, आखिर केका आधारमा उनीहरुलाई हिरासतमा राखिएको ?” मानव अधिकार परियोजना प्रदेश संयोजक रेशम न्यौपाने प्रश्न गर्नुहुन्छ ।
घटनाका विषयमा प्रहरी र होटल व्यवसायी संघसँग छलफल गर्ने कोशिस भएपनि सुनुवाई नभएको उहाँको गुनासो छ । “यदी छलफलको वातावरण बन्दैन र हाम्रा साथीहरुलाई रिहा गरिँदैन भने बुटवलमा सडक खाना महोत्सव रद्ध गर्नुपर्ने अवस्था आउँछ त्यसको जिम्मेवार हामी हुने छैनौ ”, न्यौपानेले भन्नुभयो ।
मनो सपोर्टिङ म्यापल ग्रुपको आयोजना तथा विभिन्न संस्थाको सहयोगमा गरिएको पत्रकार सम्मेलनमा उनीहरुले देशभरका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका नागरिकलाई बुटवल भेला गर्ने बताए ।
प्रहरीले भने स्थानीय दुई जना महिलालाई कुटपिट गरेको उजुरीका आधारमा गत आइतबार उनीहरुलाई बुटवलबाट पक्राउ गरेको जनाएको छ ।
महिलाको उजुरीका साथै बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई हैरानी गरेको भन्दै होटल व्यवसायी, टोल संस्था र केही महिलाहरुले समेत गुनासो गरेपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताउनुभयो ।
उनीहरु विरुद्ध अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार प्रहरीका अनुसार पक्राउ पर्नेहरु १८ देखि ५० बर्ष उमेरका छन् ।