बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी)ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आर्थिक अनिमितताको आशंकामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाट नियन्त्रणमा लिएको हो ।
केसीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखेर अनुसन्धान भइरहेको सीआईबिका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।
प्रहरीले केसीको निवासबाट करीब ३५ तोला सुन र नगदसमेत बरामद गरेको छ । केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग रकम मागेको आरोपमा निगरानीमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भइ सोमबार रमाना लिई जाने तयारीमा रहेको केसीलाई निवासमै भएका बेला नियन्त्रणमा लिइएको हो ।
व्यापारीले नगद र चेक बुझाएर सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।