रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले ज्येष्ठ नागरिकको सम्मान स्वरुप न्यानो कपडा वितरण कार्यको थालनी गरेको छ ।
सियारी गाउँपालिकाले पहिलो चरणमा वडा नम्बर ५ बाट ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु गरेको हो ।
७० बर्षमाथिका जेष्ठ नागरिकलाई चिसोबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले बलाङ्केट बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
सियारी ५ का वडा अध्यक्ष धनपति खरेलले बडाको बार्षिक कार्यक्रम अन्तरगत एक सय ८५ जना जेष्ठ नागरिकलाई बलाङकेट बितरण गरिएको जानकारी दिनुभयो ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले पालिकाले ज्येष्ठ नागरिकको हितका लागि नीति बनाएर कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नेदेखि लिएर न्यानो कपडा वितरण लगाएतका कार्य गर्दै आएको बताउनुभयो ।
सियारीले पालिका भित्रका एक हजार ३ सय ७८ जना जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गरी औषधी उपचार गरेको जनाएको छ । सियारीवासी नागरिकका लागि निशुल्क रगतको प्रबन्ध समेत मिलाइएको जनाइएको छ ।
बलाङकेट बितरण कार्यक्रममा बोल्दै पालिकाकी उपाध्यक्ष तारा थारुले नगरका ज्येष्ठ नागरिकको सेवा गर्नु पालिकाको कर्तव्य भएको बताउनुभयो ।
न्यानो कपडा पाएपछि ज्येष्ठ नागरिक निकै खुसी देखिएका छन् । वडाले गरेको सम्मानले आफुहरुलाई निकै खुसी तुल्याएको सियारी ५ सिद्धपुरका ९६ वर्षीय सुकदेव पौडेलले बताउनुभयो ।