बुटवल । आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।
स्वस्थानी कथा अनुसार स्वस्थानी व्रत सुरुमा नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा व्रत सुरु भएको धार्मिक मान्यता छ ।
स्वस्थानी व्रत सुरु भएको दिन आजदेखि पनौतीको सालीनदीमा मेलासमेत लाग्ने गर्दछ । सालीनदीको पानीले नुहाएमा विभिन्न रोग नष्ट हुने, रोग लागेकाको रोग निको हुने र शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहने धार्मिक आस्था र पार्वतीले एक महिनासम्म व्रतस्वरुप भगवान शिवसँग विवाह भइसकेपछि लोक कल्याणका निम्ति परम्परागतरुपमा सोही व्रतकथा चल्दै आएको मानिन्छ ।
चिसो मौसममा दैनिकरूपमा पवित्र शालिनदीमा स्नान गरी एक महिनासम्म कथा सुनेर ब्रत बसिने स्वस्थानी वा माधव नारायणप्रति नेपालीहरुको विशेष लगाव र विश्वास छ । यहाँ बस्ने व्रतालुले एक महिनासम्म नुन खान मिल्दैन ।
दैनिकरुपमा नित्यपूजा, जप, तप, ध्यान, स्वस्थानी श्रवण गरी सूर्यपूजा, शिव पार्वतीसहित सम्पूर्ण देवीदेवताको पूजा अर्चना गरी साँखु नगरभित्र एकसय आठ स्थानमा अष्टाङ्ग प्रमाण, सहस्र जलधारा अर्पण गर्ने र बेलुकी भएपछि कोठामा गई अलिनो खाना खानुपर्ने परम्परा छ । यस व्रत अवधिमा माछा, मासु, अण्डा, दाल, लसून, प्याज, साग, नून, तेल खान र प्रयोग गर्न पाइदैन ।
व्रतालुहरु विभिन्न तिथि मिलाएर खाली खुट्टा पहिला साँखुको ब्रजयोगिनी मन्दिर, पशुपति मन्दिर, फर्पिङ शेषनारायाण, पनौती मन्दिर हुँदै अन्तिममा चाँगुनारायण मन्दिर जाने परम्परा छ ।
यस्तै, एक महिनासम्म सबै व्रतालुले माधवनारायण मूर्ती बोकेर तिथि अनुसार परदेश हिँड्नुपर्ने हुन्छ । यात्रामा सामान्य बिरामी भए शंखको पानी खाने, घाउचोट भए चन्दन घोटेर लगाउने चलन चल्दै आएको छ ।
व्रत अवधिभर बिहान माघस्नान गरी मध्याह्नमा श्रीमहादेवको पूजा आराधना र अघ्र्य दिने चलन छ । त्यस्तै, बेलुका प्रत्येक दिन स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार–अगस्त्य संवाद भएको श्रीस्वस्थानी व्रत कथा सुन्ने–सुनाउने चलन छ ।