बुटवल-कोरोना भाइरसका संक्रमित दिनदिनै बढिरहेका छन्। लकडाउन पूर्णरुपमा अन्त्य भएपछिका १५ दिनमा कोरोनाको सङ्क्रमण बढ्दै गएका छन्। संक्रमित बढ्दै गएपछि कतिपय स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन्। प्रदेश ५ का कपिलवस्तु र बाँकेमा निधेषाज्ञा छ।
तर अरु जिल्लामा पनि संक्रमित बढ्दै गएपछि सरकारले देशैभरि निषेधाज्ञा जारी गर्नुपर्ने या लकडाउन गर्नुपर्ने माग उठिरहेको छ।
के अब सरकारले पुनःत्यस्तै नयाँ कदम चाल्दैछ? आम नागरिकमा जिज्ञासा र चासो रहँदै आएको छ। कोरोनाको मात्रा बढ्दै जानुले खतरा घटेको नभइ बढेको देखाइरहेको छ।
बिहीबार मात्रै देशभर ३६० जनामा कोरोना सङ्क्रमण भएको तथ्य सार्वजनिक भएको छ। कूल छ हजार ६२२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। देशभर कूल सङ्क्रमित सङ्ख्या २१ हजार ७५० पुगेको छ । काठमाडौँमा मात्रै थप ७६ जना नयाँ सङ्क्रमित भेटिएका छन्।
यस्तो अवस्था आएपनि सरकारले भने देशभर लकडाउन गर्न मनस्थिति बनाएको छैन। सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा भन्छन्-'तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन हुँदैन। सरकारले त्यसबारेमा केही सोचेको छैन, तर अवस्था हेरेर आवश्यक निर्णय हुन्छ।'
कोरोना भाइरसको संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले आवश्यक निर्णय गर्नसक्ने उनको भनाइ छ। स्थानीय प्रशासनले केही जिल्लामा पूर्ण लकडाउनसमेत गरेको उनले जानकारी दिए।
मन्त्री डा खतिवडाले सङ्क्रमणको जोखिम कम भएको स्थानमा अवस्था हेरेर खुकुलो बनाइएको र सङ्क्रमण बढी भएको स्थानमा थप कडाइ गरिने बताए।
उनले अर्थतन्त्रमा परेको प्रभावको पनि विश्लेषण भइरहेको र आवश्यकताका आधारमा सरकारले निर्णय गर्ने उल्लेख गरे।
सरकारले आगामी भदौ १ गतेदेखि शैक्षिक संस्था, आन्तरिक तथा बाह्य हवाई उडान तथा लामो दूरीको सवारीसाधन सञ्चालन गर्ने यसअघि नै घोषणा गरेको थियो। मन्त्री डा खतिवडाले भने-'अहिलेको अवस्थामा ती क्षेत्र खुला गर्ने अवस्था नआएको र पुनःविचार हुनसक्छ । जोखिम बढेकाले तत्काल नखोलौँ भन्ने आवाज पनि आइरहेको छ।'
मन्त्री खतिवडाले ‘सिसिएमसीको बैठकमा आवश्यक समीक्षासहित मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिए। उनले प्रधानमन्त्रीले आयोजना गरेको विज्ञसहितको बैठकमा समेत विभिन्न उपाय आएको भन्दै आवश्यकताका आधारमा मात्रै सरकारले निर्णय गर्ने उल्लेख गरे। उनले केही न्यूनतम कुरा नगरे हामीलाई एकदमै समस्या हुने र आर्थिकरुपमा श्वास फेर्न पनि कठिन हुन्छ भन्ने खालका कुरासमेत आइरहेको बताए।