बुटवल । रोयल ग्रुपका नाममा रकम असुली गरेको अभियोगमा दुई युवकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट विभिन्न हात हतियार र विस्फोटक पदार्थसहित गुल्मीको मालिका गाउँपालिका–४ अर्खावाङ बस्ने ३५ वर्षीय नविनचन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्कीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
‘रोयल ग्रुप’ नामक समूह बनाई विभिन्न व्यक्तिलाई डर धम्की देखाई असुली गर्ने गरेको गुनासो आएपछि खोजतलास गर्नेक्रममा उनीहरुलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले आज बुटवलमा अयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
उनीहरुको साथबाट साथबाट १ थान रिभल्वर र ३५ राउण्ड गोली, तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थान, डेटकर्ड ४ मिटर बरामद गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताउनुभयो ।

नवीन चन्द्र रेग्मी विगतमा जनमुक्ति सेना रहेको र स्वेच्छिक अवकास लिएर बसेको अनुसन्धानको क्रममा बुझिएको प्रहरीले जनाएको छ । रुपन्देहीका उद्योगी वयवसायी तथा प्रतिष्ठित व्यक्तिको नाम लिष्ट तयार गरिएको डायरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई हात हतियार तथा बिस्पोटक पदार्थ यस सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रनाउ थापाले बताउनुभयो ।