भैरहवा–मर्चवार क्षेत्र। रुपन्देहीको कर्णाली। विकासका दृष्टिले पछि परेको ठाउँ। लकडाउनका कारण यहाँका बासिन्दा पनि खेतीबाली सकेर फुर्सदमा छन्।
केटाकेटीहरु बल्छी लिएर माछा मार्न खेतका डिलमा बसेका छन्। सानातिना खोल्साखाल्सीहरुका माछा बल्छीमा पार्न उनीहरु धेरै समय पर्खिन्छन्।
रुपन्देहीको मर्चवार क्षेत्र प्रवेश गर्दासडक छेउछाउ बल्छी थापेर समूह देख्न सकिन्छ। धान खेतको हरियाली वातावरणमा सडक वरपर रहेका खोल्सा, नहर वरिपरि बालबालिकादेखि व्यस्क समेत बल्छी समाएर बसेका हुन्छन्।
खाली समयमा माछा मार्दा रमाइलो पनि हुने र खान पनि पुग्ने भएकोले मर्चवारका जमात माछा मार्नमा व्यस्त रहन्छन्। कोरोना महामारीले विद्यालय जान नपाएका देवन बक्सापुर, मर्यादपुर, तुनिहवा, मझगावा सुमेरगढ लगाायतका स्थानीय बालबालिका समेत माछा मार्दै दिन बिताउने गरेका छन्।
रुपन्देहीको मर्चवार क्षेत्रका बालबालिका अहिले बल्छी लिएर नहर, खोल्सा, पोखरी, खेत खेतमा घुम्दै माछा मार्ने गरेका छन्। विद्यालय बन्द भएको ५ महिना हुन लाग्यो, यता उता डुलेर भन्दा पनि माछा मारेर समय बिताउदा खान पनि पुग्ने भएकोले माछा मार्दै हिडेको देवनबक्सापुर कक्षा ५मा पढ्ने राज कुर्मीले बताए।
‘हामी साथीहरु सामूहिक रुपमा जुटेर खाली समयमा माछा मार्ने गरेका छौं, सडक छेउको नहर र धान खेतमा जताततै माछाहरु अहिले बढेका छन्, बिहानको खाना खाएर बल्छी लिएर माछा मार्दै निस्केका छौं’–कुर्मीले भने।
सरकारी स्कुलमा पढ्दै आएका कुर्मी विद्यालय बन्द भएको धेरै भएकोले समय बिताउनका लागि दैनिक माछा मार्दै हिड्छन्।
‘स्कुल कहिले खुल्छ थाहा छैन, घर बस्दा बोरिङ हुन्छ, बिहानको खाना खाएर साथीहरु एकजुट भई गाउँको पूर्वतर्फ रहेको सिचाई नहरमा माछा मार्नका लागि जान्छौं’–उनले भने।
साथीहरु माछा मार्दै गरेको देखेर आफु पनि आएको कक्षा ३ का मोहन लोधले लुम्बिनी टाइम्ससँग बताए।
‘बाँसको लठ्ठीमा धागो बाँधेर त्यसमा बल्छी लगाएका छौं, माछा फसाउन लागि बल्छीमा चाराको रुपमा गड्यौला र आटा लगाउने गर्छौं–उनले भने–माछाले चारा खान आउँदा मौकामा बल्छीमा अड्किन्छ र पानीबाट बल्छी निकालेर माछालाई झोलामा राख्छौं।’
यस्तो बल्छी बजारमा किन्न पनि पाइन्छ। तर उनीहरुले स्टेप्लरको काँटीको बल्छी बनाएका बनाएका छन्।
कसैले एक–दुईवटा बल्छी लिएर माछा मार्छन्, भने कसैले एकैपटकमा धेरै बल्छी थाप्छन्। अनुभव भएकाहरुले धेरै बल्छीमा धेरै माछा पार्छन्, थोरै अनुभव भएकाले थोरै माछा। सिधरी, खोस्टी, डुढुई, चेल्हवा र गड्यौलाको चाराले ठूलो सिधरी, टेङ्गना, भोट्टी, चन्गा जस्ता माछाहरु फस्ने गरेका छन्।
‘धेरै माछा भएको ठाउँमा गयो भने एकाध घण्टामा नै एक छाक खाने माछा पर्छन्, सधै त्यस्तो हुदैन, कहिलेकाही त थोरै माछा पाए साथीहरुलाई दिएर एकछाक पुर्याउँछौं–कक्षा ३ मा पढ्ने आएका रामकेशले भने–कहिलेकाहीँ त माछा नि पाइदैन, २–२ वटा पाए पनि खानलाई पुग्दैन, अनि खोलामै छोडेर आउने गरेका छौं।’