बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल भैरहवा सडकको अञ्चलपुरमा भएको सवारी दुर्घटनामा तनहुँका एक युवकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
दुर्घटनामा परि तनहुँको भिमाद नगरपालिका वडा–५ बस्ने २१ वर्षिय हरिश तिवारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। त्यसैगरी पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–१ बस्ने ३९ वर्षीय बासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दिपेश घिमिरे घाईते भएका छन्।
बुटवलबाट भैरहवातर्फ गइरहेका बस र कार अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। सडकमा रोकिराखेको लु २ ख ६०६ नम्वरको ट्रकमा लु २ ख ६०३८ नम्वरको बस र ग १ च ३७१३ नम्वरको निजी कार ठोक्किएको हो। दुर्घटनामा परि मृत्यु हुने र घाईते हुने बसका कर्मचारी हुन्।
घाईतेलाई उद्धार गरी भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि पठाईएकोमा चालक सिटमा रहेका तिवारीको मृत्यु भएको र अन्य २ जना घाईतेको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडक खण्ड अन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिराखेको ट्रकमा बस र निजी कार बिहान करिव ३ः३० बजे ठोकिएको प्रहरीले जनाएको छ।