नेपालगञ्ज–वैशाख २३ गते देशभर कोरोना संक्रमितको संख्या ८२ मात्रै हुँदा नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै २३ जना संक्रमित थिए। नेपालगञ्ज उपमहानगरपालिका–८ जोलहनपुरुवाका एक ६० वर्षीय पुरूषको सम्पर्कमा आएकाहरुलाई पछ्याउँदा एकै टोलमा ती संक्रमितहरु फेला परेका थिए।
एक्कासी ठूलो संख्यामा संक्रमित भेटिएपछि नेपालगञ्जमा समुदयस्तरमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै नगरवासी त्रसित भए। लकडाउनपछि नेपालगञ्जमा बिस्तारै संक्रमण घट्यो तर बाँकेकै नरैनापुर गाउँपालिकामा डरलाग्दो गरी संक्रमण फैलियो।
जेठ ११ गतेसम्म नरैनापुर गाउँपालिकामा मात्रै १ सय १४ जना संक्रमित भेटिएका थिए। बिस्तारै नरैनापुरमा पनि संक्रमण नियन्त्रणमा आयो। त्यसपछि जिल्लाबासीले केही राहतको महसुस गरे। कतिपय सञ्चारमाध्यमले त बाँके कोरोना संक्रमणमुक्त जिल्ला बन्न लागेको समाचार समेत प्रकाशित गरे।
यहीबीचमा साउन ६ गते सरकारले १२० दिन लामो लकडाउन अन्त्य भएको घोषणा गर्यो। त्यसपछि नेपालगञ्जमा मानिसहरुको चहलपहल सुरु भयो। सरकारी कार्यालयमा सेवाग्राहीहरुको घुईँचो लाग्यो। मानिसहरु सामान्य अवस्थातर्फ फर्किरहेको व्यवहार देखाइरहेका थिए।
सामाजिक दुरीको पालना र मास्कको अनिवार्य प्रयोगमा सर्वसाधारणले लापरबाही गरेका देखिए। लकडाउन खुलेको हप्ता दिनपछि साउन १५ गते नेपालगञ्जका २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो।
त्यो दिनको रिपोर्टअनुसार सेवाग्राहीको बढी चाप हुने सरकारी कार्यालयहरु आन्तरिक राजस्व कार्यालय, जिल्ला अदालत, यातायात व्यवस्था कार्यालय लगायतमा कार्यरत कर्मचारीमा संक्रमण देखिएको थियो।
सरकारी कार्यालयका कर्मचारीमै संक्रमण पुष्टि भएपछि समुदायस्तरमै कोरोना फैलिएको भन्दै बाँके प्रशासनले साउन १६ गतेदेखि ३ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्यो। ३ दिनका लागि घोषणा गरिएको निषेधाज्ञा साउन २० गते पुनः २ दिन र साउन २३ गते ३ दिनका लागि थप गरेर मंगलबारसम्म लम्ब्याइएको छ।
निषेधाज्ञाकै बीच नेपालगन्ज उपमहानगरपालिकामा संक्रमितहरुको संख्या बढ्ने क्रम रोकिएको छैन।
सरकारी कार्यालयका कर्मचारी र उपमहानगरपालिकाका जनप्रतिनिधिहरुमै संक्रमण देखियो। कर्मचारी र जनप्रतिनिधिसँगै, स्वास्थ्यकर्मी र पत्रकारमा समेत संक्रमण पुष्टि भयो। २३ गते एकैदिन ४९ जनामा संक्रमण भेटियो। शनिबार पनि बाँकेमा २० जना संक्रमित फेला परेका छन्।
शनिबार साँझसम्म बाँकेमा कोरोना भाइरसका संक्रमित भएकाहरुको संख्या ५६७ जना पुगेको छ। ती मध्ये १२२ जना सक्रिय संक्रमित हुन्।
उनीहरु विभिन्न आइशोलसन सेन्टरमा उपचाररत छन्। २ जना संक्रमितको मृत्यु भैसकेको छ।
संक्रमितहरु फेला पर्ने क्रम नरोकिएपछि निषेधाज्ञामा झन कडाई गरिएको छ। अत्यावश्यक कामले बाहेक बाहिर आवतजावत गर्ने र माक्स प्रयोग नगर्नेलाई कारबाही गर्न थालिएको छ। अत्यावश्यक बाहेकका सवारी साधन चल्न दिइएको छैन। लकडाउन अन्त्यपछि दुई दिन खुलेका बजार र पसलहरु एक हप्तादेखि ठप्प छन्।
नेपालगन्जको मुख्य बजार क्षेत्र सिल
बाँके प्रशासनले कोरोना फैलन रोक्ने उदेश्यले शनिवार राती १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रलाई सिल गरेको छ। सुर्खेतरोडलाई बाहिर पारेर नगरका मुख्य चोक, बजार र क्षेत्र सिल गरिएको जिल्ला प्रशासन बाँकेले जनाएको छ।
नेपालगञ्जको सदरलाईन, त्रिभुवनचोक, बसपार्क, न्युरोड, घरबारीटोल, एकलैनी लगायतका मुख्य बजारहरु सिल गरिएको क्षेत्रभित्र परेका छन्। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा सुर्खेतरोडलाई बाहिर पार्ने गरी पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकदेखि चारवाहिनी चोक, पिपल चौतारा हुँदै बाँकेगाउँ, बाँकेगाउँदेखि रिङरोड फुल्टेक्रास्थित आर्मी ब्यारेक हुँदै नहरपुर्वा चोकसम्म, नहरपुर्वा चोकदेखि बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला क्षेत्रलाई शनिवार १२ बजेदेखि मंगलवार राती १२ बजेसम्म सील गरिएको उल्लेख छ।
सिल गरिएको क्षेत्रमा शनिवार राती १२ बजेपछि स्वास्थ्य, सुरक्षाकर्मी, एम्वुलेन्स, शवबाहक र दमकल बाहेकका सवारी साधन, पसल, व्यवसाय सन्चालन र हिडडुलमा प्रतिबन्ध लगाइएको छ।
प्रशासनको सुचनामा निर्णय बर्खिलाप गर्ने, अवहेलना गर्ने वा कामकाजमा बाधा पुर्याउनलेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने उल्लेख छ। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन नागरिकहरुलाई नियम र निर्देशनको पालना गर्न आग्रह गरेका छन्।