बुटवल-कपिलवस्तुको तौलिहवा क्षेत्रमा समुदायस्तरमा गरिएका परीक्षणमा पानपसलका व्यापारीदेखि किराना, फेन्सी पसलका व्यापारीसम्ममा कोरोना भाइरसको संक्रमण देखिएको छ।
सरकारी अस्पतालका स्वास्थ्यकर्मीदेखि निजी क्लिनिकका स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।
उनका अनुसार आइतबार थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कपिलवस्तु नगरपालिकाको तौलिहवाको बालमन्दिर क्षेत्रबाट साउन २१ मा संकलन गरेका २२६ वटा नमूना मध्ये ११७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ। ९८ जनाको रिपोर्ट आउन बाँकी छ।
यस्तै साउन २३ मा कपिलवस्तु अस्पतालमा संकलन गरिएका ६ नमूनामध्ये ५ जनाको पोजेटिभ रिपोर्ट आएको छ।
यस्तै कृष्णनगर नगरपालिकाका थप १ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ।
यीमध्ये ६ जना स्वास्थ्यकर्मी हुन्। जसमा ४ जना कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत स्वास्थ्यकर्मी हुन् भने २ जना निजी मेडिकलका स्वास्थ्यकर्मी हुन्। यस्तै तौलिहवाका पान पसलका व्यापारी, किराना पसलका व्यापारी र फेन्सी पसलका व्यापारीमा पनि संक्रमण देखिएको उनले बताए।
योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ८५७ पुगेको छ।