काठमाडौं-भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध भारतमा जन्मिएको भन्ने आशयको अभिव्यक्ति दिएपछि विवादमा तानिएको भारतीय विदेश मन्त्रालयले आधिकारिक रुपमा गौतम बुद्ध नेपालमै जन्मिएको स्पष्ट पारेको छ।
भारतीय विदेश मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमा बुद्ध नेपालमा जन्मिएकोमा विवाद नरहेको बताएको हो। भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार एक कार्यक्रममा बुद्ध महान भारतीय रहेको बताएका थिए।
भारतीय विदेश मन्त्रालयले जयशंकरको अभिव्यक्ति बौद्ध सम्पदाको बारेमा भएको तर गौतम बुद्धका बारे नभएको स्पष्ट पारेको छ। ‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्नेमा कुनै विवाद छैन,’ भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।
त्यसरी विदेशमन्त्रीले अभिव्यक्ति दिएपछि नेपाल सरकारले भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धको जन्मभूमिबारे दिएको विवादास्पद अभिव्यक्तिको खण्डन गरेको थियो।
परारष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर जय शंकरले शनिबार बुद्धको जन्म भारतमा भएको भनी दिएको भनाइको खण्डन गरेको हो।
सरकारले बुद्धको जन्मभूमीि नेपाल हो भन्ने कुरा ‘स्थापित र अस्वीकार गर्न नसकिने तथ्य’ भएको प्रष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो भन्ने विषय स्थापित, अस्वीकार गर्न नसकिने कुरा ऐतिहासिक र पुरातात्विक प्रमाणले पुष्टि गरेको छ। जुन युनेस्कोले पुरातात्विक सूचीमा राखेको क्षेत्र पनि हो।’
परराष्ट्र मन्त्रालयले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधन गर्दै बुद्धको जन्म नेपाल नै भएको स्वीकार गरिसकेको अवस्था फरि उक्त विवाद झिक्नु उचित नहुने जनाएको छ।
विज्ञप्तिमा बौद्ध धर्मको विकास नेपालबाटै विश्वमा फैलिएको प्रमाणित भइसकको अवस्था फेरि यो विवादको विषय बनाइ रहनु उपयुक्त नहुने सरकारले बताएको छ।
जयशंकरले शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रीले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ हुन् भन्दै विवाददास्पद अभिव्यक्ति दिएका थिए।