बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामले गति लिन सकेको छैन । निर्माण सुरु भएको चार वर्ष बितेको छ । तर प्रगति भने सन्तोषजनक छैन । यो सडकको भौतिक प्रगति हालसम्म २५ प्रतिशत मात्र छ ।
जिम्मेवार निकायले अनुगमन गर्न नसक्दा र कार्यान्वयनमा चासो नदेखाउँदा सडक विस्तारको कामले गति लिन सकेको छैन । सडक विभागले यसअघि तोकिएको समय सीमाभित्र निर्माणको काम नसकिए ठेक्का तोड्ने भन्दै सूचना नै प्रकाशित गरेको थियो । तर सडक विभागले लचिलो बन्दै काम अघि बढाउन सकेको छैन । छ महिनामा प्रगति विवरण हेरेर ठेक्का रद्द गर्ने या नगर्ने भन्ने निर्णयमा पुग्ने बताउँदै सूचना जारी गरेको थियो तर काम अघि नबढ्दा थप निर्णय लिन सडक विभागले आनाकानी गरेको स्थानीयको आरोप छ ।
सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार कम्पनीले अझै सोचे अनुरुपको काम गर्न सकेको छैन । काम सन्तोषजनक नभएकाले पहिले नै ठेक्का तोड्ने योजनामै थियौँ । तर पछि कम्पनीले काम गर्छौ भनेर आश्वासन दिएपछि पुनः छ महिना हेरौँ भनेर समय दियौँ । तर अझै पनि काम सन्तोषजनक रहेको छैन” , उहाँले भन्नुभयो ।
उहाँका अनुसार ११३ किलोमिटर लामो सडक विस्तार गरी चार लेनको बनाउने गरी २०७५ पुसमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ एसोसिएसन र सडक विभागबीच सम्झौता भएको थियो । यस सडकलाई दुई खण्डमा विभाजन गरेर सो कम्पनीलाई नै जिम्मा दिइएको थियो ।
तीन जिल्लामा पर्ने नारायणगढ–बुटवल सडक खण्डलाई गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । गैँडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने—बुटवल ४८ किमी सडकलाई खण्ड २ (पश्चिम खण्ड)मा छुट्टाएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ। दुबैतर्फ कामको सुस्तता उस्तै छ ।