बुटवल । सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन प्रहरीले आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक भरत बहादुर वि.कले कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानूनबमोजिम कारबाही गरिने बताउनुभयो ।
प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुव्र्यवहार नगर्न भनेको छ ।
जिल्लामा होली पर्वलाई लक्षित गर्दै १२ सय प्रहरी परिचालित हुने प्रहरीले जनाएको छ ।