तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औं श्रृंखलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअनुसार मंगलबार अर्थात् आज सिक्सलेनमा मानव साङ्लो सहितको सरसफाई हुने भएको छ । अयिभानमा सबै नागरिकबासीको साथ, समर्थन र एकता छ भन्ने सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको हो ।
मंगलबार बिहान ८ बजेदेखि सिक्सलेनको योगिकुटीदेखि मधवलियासम्मका १७ वटा चोकमा नगरबासी भेला भएर मानव साङ्लो तयार गरिने कार्यक्रम रहेको छ । सरसफाई तिलोत्तमाको पहिचान र सभ्याता हो भन्ने कुरामा सबै नगरबासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकाल्न लागिएको अभियानका संयोजक सुरेन्द्र श्रीले जानकारी दिनुभयो । नगरपालिकाले मानव साङ्लोमा सहभागी हुन सम्पूर्ण नगरबासीमा अनुरोध समेत गरेको छ ।
यस्तै मंगलबार नैं मणिग्राम चोकमा निर्माण गरिएको सरसफाई स्मारक उद्घाटन गर्ने कार्यक्रम समेत राखिएको छ । श्रृंखला १०० औं मा प्रवेश गरेको स्मरणमा मणिग्राममा स्मारक निर्माण गरिएको हो । सप्ताहव्यापी कार्यक्रमअनुसार बुधबार नगरपालिकामा मुख्य समारोह आयोजना गरिएको छ ।
तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट नियमित सरसफाई अभियान सुरु भएको थियो । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।
निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा महाअभियानको क्रममा नगरपालिकामा यहीँ फागुन २५ बाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएका छन् ।