कपिलवस्तु–समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि कपिलवस्तु प्रशासनले थप ६ दिनका लागि 'लकडाउन' गर्ने निर्णय गरेको छ।
साउन २७ गते बिहान ५ बजेदेखि साउन ३२ गते राती १२ बजे सम्मका लागि 'लकडाउन' गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए। यसअघि केही क्षेत्र र सेवामा खुकुलो राखेर बन्द गरिएको भएपनि अब भने अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द हुनेछन्।
सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, बजार, निजी र सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय भएको उनले बताए।
कोरोना भाइरसको संक्रमण फैलिने जोखिम उच्च भएको र बढी जनसम्पर्क हुने स्वास्थ्यकर्मी, व्यापारी बैक तथा वित्तिय संस्थाका कर्मचारीहरुमा संक्रमण देखा परेपछि 'लकडाउन' नै गर्नुपरेको प्रजिअ पौडेलले बताए।'
प्रजिअ दीर्घनारायण पौडेलको अध्यक्षतामा जिल्ला कोरोना विपद व्यवस्थापन समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको हो।
उद्योग कलकारखानाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको मापदण्डअनुसार सञ्चालन गर्न पाईनेछ। खाद्यान्न तथा तरकारी किन्नका लागि स्थानीय प्रशासनले बिहान ८ बजे देखि १० बजे सम्मको समय तोकेको छ।
जिल्लामा सोमबार दिउसोसम्म ८ सय ५७ जना संक्रमित भेटिएका छन्। जसमध्ये ७ सय ५५ जना निको भई घर फर्किसकेका छन्। लकडाउन पालना नगर्नेलाई कडा कारबाही गरिने प्रशासनले जनाएको छ।
लकडाउनमा के के गर्न पाईने : अत्यावश्यकीय वस्तुहरु ढुवानी, खाद्यान्न, तरकारी, फलफुल, दुध, पेट्रोलियम पदार्थ, ग्यास, औषधी, पानी पशुपंछीको दाना, एम्बुलेन्स, शववाहन, र राजमार्ग भएर गुड्ने सवारी साधनहरु जिल्ला भित्र ओर्लिने र चढन नपाउने गरी चल्न पाउनेछन्।
के गर्न पाइदैन : निजी र सार्वजनिक सवारी चलाउन पाइदैन, सबै किसिमका व्यापार, व्यवसायहरु, चियापसल, खाजाघर, होटल रेस्टुरेन्ट खोल्न पाइदैन।