बुटवल । व्यवसायिक सटरहरुको भाडादर धेरै भएकाले उचित मापदण्ड बनाउन व्यवसायीले सुझाव दिएका छन् ।
बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आज सहकारी, व्यवसायिक संघसंस्था, यातायात व्यवसायी, निर्माण व्यवसायी, हाटबजार व्यवसायी क्षेत्रका अगुवाहरुसँग गरेको छलफलमा यस्तो सुझाव दिइएको हो ।
उनीहरुले मङ्गगो भाडादरका कारण बुटवलका मुख्य व्यापारिक क्षेत्रबाट व्यापार व्यवसाय विस्थापित हुने र त्यसको मार व्यवसायीमा पर्ने भन्दै सबैक्षेत्रलाई चित्त बुझ्ने गरी भाडादरको मापदण्ड बनाउन सुझाव दिएका हुन् ।
प्रदेशको राजधानी दाङ तोकिएपछि बुटवलको व्यापार व्यवसायमा संकट आएको भन्दै लगानी गरेका व्यवसायीहरु मर्कामा परेको बताएका छन् ।
सहभागीहरुले बुटवलभित्र निर्माणाधीन योजनाहरु समयमै सम्पन्न गर्नका लागि बुटवल उपमहानगरपालिकाले संघ र प्रदेशलाई निरन्तर दबाब दिनुपर्ने र आवश्यक परेमा बुटवल उपमहानगरपालिकाको अगुवाइमा सडकमा आउन समेत तयार रहेको भन्दै संघ र प्रदेशका योजना समयमै सम्पन्न गर्नका लागि दबाबमूलक कार्यक्रम जरुरी रहेको बताए ।
यस्तै, सहकारी क्षेत्रमा बुटवल उपमहानगरपालिकामा दर्ता नभएका सहकारीहरुका कारण सहकारीमाा बेथिति देखिएको र त्यसको दोष सबै सहकारीकर्मीहरुले खेप्नुपरेको सहकारी क्षेत्रका व्यक्तिहरुले बताएका छन् ।
उनीहरुले बुटवलभित्रका सहकारीहरुलाई एउटै मापदण्डमा ल्याउन र एकरुपता गर्नका लागि समान व्याजदर कायम गर्ने र त्यसको नियमन, अनुगमन बुटवल उपमहानगरपालिकाले गर्नुपर्ने सुझाव दिए ।
बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उदेश्यले आयोजित छलफलमा सहभागी वक्ताहरुले बुटवल उपमहानगरलाई देशकै अग्रणी शहरका रुपमा स्थापित गर्नका लागि आफुहरुको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई साझा सहरका रुपमा स्थापित गर्दै देशकै अगुवा सहर बनाउने अभियानमा साथ दिन आग्रह गर्नुभयो ।
उहाँले सहकारी क्षेत्रका समस्याहरु समाधानका लागि विज्ञहरुसमेतको सहभागितामा आवश्यक ऐनकानून बनाउने बताउनुभयो । उहाँले बुटवलको व्यवसायिक क्षेत्रका समस्याका बारेमा बुटवल उपमहानगरपालिकाले अध्ययन गरिरहेको र छिटै नै यसबारे आवश्यक निर्णय गर्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।
सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताउनुभयो ।