तनहुँ । दूषित पानी पिउँदा तनहुँमा करीब तीन सय ५० जना बिरामी भएका छन् । तनहुँको को म्याग्दे गाउँपालिका वडा नं. ४ मनहरिका पीपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लाश सडेगलेर दूषित भएकाले उपभोक्ता भएका हुन् ।
गाउँपालिकाका अध्यक्ष बालकृष्ण घिमिरेले पानी दुर्गन्धित खाएपछि सो क्षेत्रका १४८ घरपरिवारका बासिन्दा विरामी भएको जानकारी दिनुभयो । उपभोक्तले ट्यांकीमा शव देखेपछि मनोविज्ञानमा असर परी वान्ता गर्ने गरेको र सबैजना विरामी भएको घिमिरले बताउनुभयो । ‘‘ट्याङ्कीमा शव भेटिएपछि किलकिलाएर धेरै जसोले बान्ता गरेका छन्’’ उपाध्यक्ष घिमिरेले भन्नुभयो । उहाँल तत्कालको लागि मूलको पानी दुर्गन्धित ट्याङ्की नराखी बैकल्पिक व्यवस्था पालिकाले गर्न लागेकोे जानकारी दिनुभयो ।
ट्याकीभित्र सडेगलेको अवस्थामा महिलाको लाश भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले बताउनुभयो । नामथर वतन नखुलेकी महिलाको लाश सडेगलेको अवस्थामा भेटिएको हो प्रहरी निरीक्षक शर्माले बताउनुभयो । ट्याकीभित्रबाट दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्यांकी जाँच गर्ने क्रममा लाश देखेर प्रहरीमा खबर गरेका थिए ।
घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको टोलीले जनप्रतिनिधिको रोहवरमा मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।
मृतकको लाश पोष्टमार्टमका लागि दमौली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको घटना स्थल पुगेका प्रहरी उपरीक्षक विष्टले बताउनु भयो । केही समय अगाडि ती महिलाको कसैले हत्या गरी ट्यांकीमा फालेको हुन सक्ने अनुमान प्रहरीको छ ।
घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङकी खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिनुभयो । “तीन दिन अघिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो । आज बिहान ट्यांकीको ढकन खोलेर हेर्दा शव देखियो घिन मानेर स्थानीय विरामी भएका छन्’’ सचिव मल्लले भन्नुभयो ।