गुल्मी–मुखमा मास्क। शोकले विक्षिप्त अनुहार। अनुहारमा एक धर्सो सन्तोष छैन। आडैमा बसेर गफ गर्ने परिवार रहेनन्। छिमेकीले पानी पनि परै राख्दिन्छन्। रुरु क्षेत्र गाउँपालिका ५ बम्घाका ३३ वर्षीय राजु माझी पीडाले थलिएर घर आए। परिस्थितिले क्वारेन्टिनमा बसाल्यो।
माझी परिवारको सुखको लागि १४ वर्षअघिदेखि परदेश आउजाउ गर्थे। दशैंमा घर आउने मनस्थितिमा थिए उनी। श्रीमती विनितासँग यही साउन १४ गते दिउँसोसम्म कुरा भएको थियो। उनी भारतमा ठूलै कम्पनीको मेसमा काम गर्छन्। निकै व्यस्त भएकाले दुई/तीन दिनमा परिवारमा फोन हुन्थ्यो।
गत साउन १६ गते राति ८ बजे छिमेकीले फोन गरेर घरमा ढुङ्गा खस्यो मात्रै भनेर जानकारी गराए। राजु तनावमा परे। छिमेकीले कुरा लुकाएपछि हतपत श्रीमतीलाई फोन गरे, तर उठेन। केहीबेरमा आफैले सामाजिक सञ्जालमा श्रीमतीसहित तीन छोराछोरीको शव देखे। उनी छाँगाबाट खसेजस्तै भए। थचक्क बसे।
साउन १६ गते अविरल वर्षासंगै घर माथिबाट खसेको ढुङ्गाले च्यापेर माझीको श्रीमतीसहित तीन छोरा–छोरीले गुहार माग्न समेत पाएका थिएनन्। घटनामा ३० वर्षीया बिना, १० वर्षका छोरा सागर, सात बर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको ज्यान गयो। पीडाले बेचैन बनेका माझी घटना भएको अर्को दिन नै भारतबाट हिडेर तीन दिनमा गाउँ आइपुगे।
अहिले माझीलाई पीडामा मल्हम लगाइदिने आफ्नो मान्छे कोही छैन। त्यसैमाथि कोरोना भाइरसको जोखिमले पनि एक्लो बनाएको छ। ‘आउनासाथ क्वारेन्टिनको बसाईले झन पीडा थप्यो–उनले भने–रात कटाउनै मुस्किल परेको छ।’
पीडा र परिस्थितिले बाध्य बनायो उनलाई। उनी श्रीमती र छोराछोरी गुमाएको घर हेर्न चाहन्नन्। न जीवनसंगिनी न छोराछोरी। ‘जसका लागि परदेश पसेँ, उनीहरु नै नभएपछि कसरी घर हेर्ने’–उनी स्तब्ध सुनिन्छन्।
राजु माझीलाई जतिसक्यो छिटो काममा फर्किन मन लागेको छ। गाउँमा बस्नै मन लागेको छैन। उनी त्यो सपनामात्रै थियो भन्ने अनुभव गर्न चाहन्छन्। गाउँघरमा बसेर परिवारको पिरलो मात्रै हुने भएकाले उनी व्यस्त हुन चाहन्छन्।
कामको व्यस्तता भए पीडा कम हुने माझीले बताए। राजुले श्रीमती बिनासँग १५ वर्ष अघि गाउँमै प्रेम विबाह गरेका हुन्। बिनिताले गाउँमै मजदुरी गरेर छोराछोरी हुर्काउने र पढाउने गरेकी थिइन्। राजुले परदेशबाट मिठो चोखो चलाएका थिए।
परिवारकै लागि साउदी, कतार र भारतमा काम गर्न गए। पछिल्लो समय १४ महिनादेखि भारतमा थिए। जसका कारण १० महिने छोरी बिनिताको मुखसम्म देख्न पाएनन्। उनले लकडाउनको बेलामा पनि राम्रो काम भएकाले परिवारसँग रमाउनकै लागि दशैंमा आउने योजना बनाएका थिए।
घरमा टिभी थिएन। बिना प्रायः साँझ परेपछि छोराछोरीसहित छिमेकी प्रेम घर्तीकोमा टिभी हेर्न पुग्थिन्। सोही दिन पनि घर्ती परिवारसँग बिनिताका चार जनाले टिभी हेरेर बसेका थिए। पानी पर्न थाल्यो, खाना समेत पकाएकी थिइनन् विनिताले। उनी बालबच्चा लिएर घर गइन्।
स्थानीय प्रेम घर्तीका अनुसार करीब साढे ७ बजे पानी निकै दर्कियो। केहीबेरमै ठूलो आवाज आयो। बाहिर निस्किएर हेर्दा बिनिताको घर ठूलो ढुंगाले च्यापेको देखेपछि गुहार मागेको घर्तीले बताए। निरन्तरको पानी र पहिरो खस्नसक्ने भएकाले तत्काल उद्धार गर्न सक्ने अवस्था थिएन। केहीबेरमा स्थानीयले उद्धार गरे।
तर चार आमा छोरा–छोरीनै जिवित थिएनन्।
रुरु क्षेत्र गाउँपालिका ५ बम्घाको आटीपाटामा १४ घरपरिवार बोटे माझी बसोबास गर्छन्। सरकारले विपन्न बोटे माझीहरुको लागि घर निर्माण गरिदिएको छ। राजुले पनि गत बर्ष मात्रै ठूलो मेहेनत घर निर्माण गरेका थिए। घर बनाएर परदेश पसेका थिए। एक बर्षमै भत्कियो।
सडक निर्माणको कारण बोटे माझी बस्ती जोखिममा परेको छ। स्थानीय ७८ वर्षीय लोक बहादुर बोटे माझीका अनुसार सडक निर्माणभन्दा पहिले वर्षौ पहिरो वा ढुङ्गा खसेको थिएन। अहिले आठ घर परिवार पहिरो वा ढुङ्गा खस्ने डरले विस्थापित भएका छन्। ‘पानी परे बस्न सक्ने अवस्था नै रहेन, डोजरले फालेका अरु ढुङ्गा पनि खस्न ठीक्क परेका छन्–उनले भने–अहिले विद्यालयमा बस्दै आएका छौं।’