भैरहवा–रुपन्देहीको रोहिणी खोला नजिकै गोली चल्यो। बैकबाट पैसा निकालेर घर जादै गर्दा बैकबाटै पिछा गरेका भारतीय नागरिकले परिवारसहित मोटरसाइकलमा सवार युवालाई गोली हानी हत्या गरे। प्रहरीले पनि घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान गर्दै सिसी क्यामेराको फुटेजको माध्यमबाट अभियुक्तलाई पहिचान गरी पक्राउ गर्न सफल भयो।
त्यस्तै गत माघ महिनामा कारबाट खसेको पैसाको विटो सिसी क्यामेराकै मद्धतले प्रहरीले सम्बन्धितलाई फिर्ता गराउन सफल भयो। कार चालकले पैसा देवकोटाचोक नजिकै झरेको जानकारी प्रहरीलाई गराए। प्रहरीले चोकमा राखिएको सिसी क्यामेराको फुटेजको मद्दतले पैसा कारपछाडी आउदै गरेको इरिक्सा चालकले पाएको भन्ने पुष्टि गर्यो। प्रहरीले क्यामेरामा कैद भएको रिक्साको नम्बर पहिचान गरी इरिक्सा समितिबाट सो चालकको विवरण निकाली भेट्टाएको पैसा फिर्ता गराउन सफल भयो।
यी दुई घटना त केवल उदाहरण मात्र हुन्। साना–ठूला अपराध अनुसन्धानका क्रममा प्रहरीलाई ठोस प्रमाण जुटाउन र कारवाही गर्न सिसी क्यामेराले सहज बनाएपछि प्रहरीको सहयोगी बनेको छ। रुपन्देही प्रशासन र निजी क्षेत्रको सहयोगले पनिमा जिल्लाभर क्षेत्रको शान्ति सुरक्षालाई थप मजबुत बनाउन विभिन्न स्थानमा सिसी क्यामरा जडान भएकोे छ। शान्तिसुरक्षा कायम गर्दै अपराध न्यूनीकरणमा सिसी क्यामरा प्रभावकारी देखिएकोले अन्य ठाउँमा पनि क्रमशः सिसी क्यामरा थप गर्ने प्रक्रियामा छ।
सिसिटिभी जडान उपभोक्ता समिति र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको पहलमा शहरका मुख्य सडक, हाइवेका प्रमुख स्थान, चोक तथा संवेदनशिल ठाउँमा सिसि क्यामेराबाट सुरक्षा निगरानी भइरहेको छ।
सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्ष कुल प्रसाद न्यौपानेको संयोजकत्वमा उद्योगी व्यवसायी, बैकर्स, पेशागत तथा सामाजिक संघसंस्था, स्थानीयको २० लाख भन्दा बढी लगानीमा नगरभित्र ३२ वटा उत्याधुनिक सिसिटिभी क्यामराबाट उक्तक्षेत्रमा हुुने गतिविधि जिल्ला प्रहरी कार्यालयवाट २४ घण्टा निगरानी भइरहेको छ।
जसले प्रहरीलाई शान्तिसुरक्षा कायम गर्न सहज भएको छ। क्यामरा निगरानीलाई निरन्तरता दिन मर्मत सम्भार र सहकार्य गरी आवश्यक ठाउँको अझै पहिचान गरी थप क्यामेरा पनि जोड्न सकिने अध्यक्ष न्यौपानेले बताए।
सवारी दुर्घटना नहोस् र भइहालेपनि पहिचान गर्न सजिलो होस, समाजमा हुन सक्ने कुनै अवैध गतिविधि चोरी तस्करीबाट समाजलाई जोगाउन सकियोस, बढ्दै गएको उद्योग व्यवसाय, बैकिङ्ग तथा सुनचाँदी कारोबार बढी भन्दा बढी सुरक्षित गर्न सकियोस् भनेर पनि निजी क्षेत्रकै पहलमा क्यामरा जडान भएको छ।
सुरक्षा व्यवस्थालाई व्यक्तिबाट भन्दा पनि प्रविधिमैत्री बनाएर प्रविधिबाटै गल्ती पत्ता लगाई कारवाही गर्न सकिने भएकोले प्रविधिको विकाससँगै अघि बढेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए।
सिसी क्यामराको माध्यमबाट अनुसन्धानमा सहजता भएपछि आवश्यक ठाउँमा क्यामरा राख्ने कामलाई तीव्रता दिइनु पर्छ। क्यामेराको मद्दतले जनशक्ति र स्रोतसाधन कम हुँदा समेतप्रविधिीको माध्यमबाट नगरको गतिविधी हेर्न सकिएको छ।
भैरहवाको समग्र सुरक्षा अवस्था नियमनमा यस प्रविधिले सहयोग पुर्याउनुका साथै नगरभित्र हुने चोरी, लुटपाट, सवारी दुर्घटना नियाल्न र न्यूनिकरण गर्न सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्ग बहादुर खत्रीले बताए।
क्यामरा जडान सँगै नगरको अधिकांश संदिग्ध क्षेत्र क्यामेराको सुरक्षा भित्र छ यसले अध्ययन अनुसन्धानमा ठोस प्रमाणको रुपमा पनि सहयोग भएको छ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनका चालकलाई सिसी क्यामेरा फुटेजको आधारमा पनि सम्पर्कमा ल्याई कारवाही गर्न सहयोग पुगेको छ। ट्राफिक प्रहरी देख्दा ट्राफिक नियम मान्ने, नदेख्दा ट्राफिक नियम उलङ्घन गर्ने प्रवृत्तिको अन्त्यका लागि पनि सिसि क्यामेरा सहयोगी बनेको प्रवक्ता खत्रीले बताए।
धकधई चोक क्यामराको निगरानीमा
अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि रोहिणी गाउँपालिकाले पनि सिसी क्यामेरा जडान गरी निगरानी बढाएको छ। सुरक्षाको दृष्टिले मजबुत बनाउन गाउँपालिकाको व्यस्त मानिने धकधई बजारमा सिसी क्यामेरा जडान गरिएको छ।
नगरोन्मुख धकधई बजारमा अपराधिक घटना हुन नदिन तथा भइहाले अनुसन्धानमा सहयोग पु¥याउने सो क्षेत्रमा क्यामेराले निगरानी बढाइएको रोहिणी गाउँपलिकाका अध्यक्ष सनोज कुमार यादवले बताए।