बुटवल-बुटवलमा कोरोना भाइरसको संक्रमण तीब्र बन्दै गएपछि बुटवल उपमहानगरपालिकाले कडाइ गर्ने तयारी गरेको छ। बुटवलमा भारतबाट आउनेहरुबाट संक्रमण फैलिएको अनुमान छ। लकडाउन खुकुलो भएपछि बजार सामान्य अवस्थाजसरी खुलेको र आममानिसले सामान्य सतर्कता पनि नअपनाएपछि बुटवल उपमहानगरपालिकाले कडाइ गर्ने तयारी गरेको हो।
बुटवल उपमहानगरपालिकाले आज बुधबार दिउसो ४ बजे आकस्मिक बैठक बोलाएको छ। बैठकले अहिलेको अवस्थाबारे पुनर्विचार गर्ने र खुकुलो बनेको बजारको अवस्थालाई व्यवस्थित गर्ने गरी निर्णय आउने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले लुम्बिनी टाइम्सलाई बताए।
'अवस्था जटिल बन्दै गएको छ, समुदायमा संक्रमण फैलिइसकेको छ, उनले भने-यो अवस्थालाई नियन्त्रणमा ल्याउनका लागि केही न केही निर्णय गर्नैपर्नेछ।'
उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका क्षेत्र करीब १० दिनजति बन्द गराउने तयारी गरेको छ।