बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको न्यायिक समितिले आर्थिक बर्ष २०७९ ÷८० को ११ महिनामा २३ वटा मुद्दाको छिनोफानो गरेको छ ।
न्यायिक समितिमा आएका ५२ उजुरीमध्ये बुधबारसम्म २३ वटा विवादको निरुपण गरिएको नगर उप–प्रमुख एवं समिति संयोजक जगेश्वरदेवी चौधरीले जानकारी दिनुभयो । संबिधानको धारा २१७ मा गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उप–प्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति निर्माण गर्ने व्यवस्था छ ।
न्यायिक समितिमा दर्ता भएका विवादमध्ये दुवै पक्षलाई छलफल गराएर २३ वटा छिनोफानो भएका छन । यस्तै, २८ वटा मुद्दा छलफलको क्रममा रहेको र एउटा मुद्दा अदालतमा पठाएर पनि खारेजी भएको समितिका संयोजक चौधरी बताउनुहुन्छ ।
‘स्थानीय तहमा न्याय सम्पादन हुन्छ भन्ने विषयमा जनतालाई विश्वास छ, त्यसैले पनि मुद्दाको चाप बढ्दै गएको छ’, उप–प्रमुख चौधरीले भन्नुभयो । सानातिना विषयका मुद्दा लिएर अदालतमा जाँदा धेरै पैसा खर्च हुने भएकाले पनि न्यायिक समितिमा मुद्दाको चाप बढ्दै गएको उहाँको भनाइ छ ।
पालिकामा सबै भन्दा धेरै जग्गा बिबादका मुद्धा आउने गरेका छन् । आर्थिक बर्षको ११ महिनामा २२ वटा मुद्धा जग्गा विवाद,बाताबारण प्रदुषण १,अस्थायी शौचालय हटाउने सम्बन्धमा १,लेनदेन सम्बन्धमा १३ मुद्दा दर्ता भएका छन् ।
यस्तै घरायसी झै भगडा सम्बन्धमा ७, छिमेकीसँग झगडामा १, सम्झौता एकतर्फी रुपमा कार्यान्वयन नगरेकामा १, सम्झौता अनुसार काम नगरेकोमा २, कुलो बिबाद १, इज्जत अनुसार खानलाउन नदिएको १ र ज्येष्ठ नागरिक पालनपोषण नगरेको १ गरी जम्मा ५२ मुद्दा पालिकामा दर्ता भएको नगर उपप्रमुख सचिवालयका कर्मचारी शोभा खनालले जानकारी दिनुभयो ।
समितिमा दर्ता भएका उजुरी उपर दुवै पक्षलाई बोलाई छलफल गरी सकेसम्म मेलमिलाप गर्न प्रोत्साहन गरी दुवै पक्षको सहमतिमा मिलापत्र गराइने उप–प्रमुख चौधरीले बताइन् ।
न्यायिक समितिको कार्यसम्पादन प्रति अहिलेसम्म नागरिकबाट कुनैपनि किसीमकोे गुनासो आएको छैन, चौधरीले भनिन्, न्यायिक समितिबाट सकेसम्म मिलाएर दुबैपक्षका कुरा सुनेर छिटो छरितो रुपमा फैसला गर्ने गरेका छौ ।
नगरले आयोजना गरेको सार्बजनिक सुनुवाईका बेलामा पनि न्यायिक समितिको माम कारवाही प्रति असन्त्ष्ट छ भने राख्नुस भनेकै हो तर कोही कसैले गुनासो गर्नुभएन आफ्नो कार्य सम्पादनमा खुशी छु , उपप्रमुख चौधरीले भन्नुभयो ।
न्यायिक समितिलाई आफ्नो क्षेत्राधिकारमा पर्ने विवादको कारबाही र किनारा कानुन बमोजिम र क्षेत्राधिकार बाहेकका मुद्दालाई मेलमिलापको माध्यमबाट मात्र निरुपण गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐनले दिएको छ ।
न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमिन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुङ्गो लगाउने गर्दछ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गर्दछन् । गाउँपालिका तथा नगरपालिकाले न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नु पर्ने व्यवस्था गरिएको छ ।
समितिले आफूले गरेको कामको वार्षिक विवरण अध्यक्ष वा प्रमुखमार्फत सम्बन्धित सभा (गाउँ वा नगर सभा)मा पेस गर्नुपर्ने हुन्छ । न्यायिक समितिबाट विवादको अन्तिम निर्णय भएको मितिले पैतीस दिनभित्र सम्बन्धित पक्षलाई सो निर्णयको प्रमाणित प्रतिलिपि उपलब्ध गराउनु व्यवस्था रहेको छ । साथै न्यायिक समितिबाट भएको निर्णयमा चित्त नबुझ्ने पक्षले निर्णयको जानकारी पाएको मितिले पैतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।