पर्वत। लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ । यतिवेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न नपाएका हुन् ।
विगतका वर्षमा जिल्लाका अधिकांश वडामा अहिलेसम्म कोदो रोपाइँ सकिन्थ्यो । केही वडामा धान रोपाइँ हुन्थ्यो तर यस वर्ष भने कुनै पनि वडामा रोपाइँ सुरु नभएको कृषकले बताएका छन् । लामो समयदेखि वर्षा नभएका कारण कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको कुश्मा नगरपालिका–१२ का कृषक रामप्रसाद सापकोटाले बताउनुभयो ।
गत वर्ष कोदो रोपिसकेर धान रोपाइँ सुरु गरेका थियौँ उहाँले भन्नुभयो, “यस वर्ष कुनै पनि रोप्न पाइएको छैन, कोदोको बीउ सुकिसकेको छ भने धानको बीउसमेत राख्न पाइएको छैन ।” धानको पानी बीउ राख्ने प्रचलन भए पनि जेठ अन्तिम सातासम्म वर्षा नभएपछि कतिपयले धुले बीउ राख्नथालेका छन् ।
सिँचाइको सुविधा भएका ठाउँमा समेत खोलानाला सुकेका कारण समयमै बीउ राख्न र रोपाइँ गर्न समस्या भएको फलेवास–५ का हरि पौडेलले बताउनुभयो । यस वर्ष समयमै रोपाइँ गर्न नपाइने भयो । पछिल्ला केही दिनयता तापक्रमसमेत ह्वात्तै बढेका कारण लगाएका बालीनालीसमेत ओइलाउँदै गएको उहाँले बताउनुभयो ।
पर्वतका अधिकांश वडामा वर्षाको भरमा खेतीबाली लगाउँदै आएका छन् । झण्डै सात हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानालानै सुकेकाले समस्या भएको हो । जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो । मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीको रुपमा उत्पादन हुने गरेको छ ।