बुटवल-बुटवल उपमहानगर क्षेत्रभित्र बिहीबार रातीदेखि भदौ ५ गतेसम्म पूर्ण लकडाउन शुरु भएको छ। यो निर्णय बिहीबार राती ११:४५ बजेदेखि भदौ ५ गते ११:४५ बजेसम्म लागू हुनेछ।
बुटवल उपमहानगरको बैठकले भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
उनका अनुसार बुटवल भित्रका खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्ममात्रै खुल्न पाउनेछन्। दुध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने छन्।
सार्वजनिक र निजी सवारी पनि बन्द गरिएको छ। बुटवल भएर पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा चल्ने गाडीले बुटवलमा रोक्न, सवारी ओराल्न र चढाउन पाउने छैनन्। तरकारी बोक्ने गाडीहरु पनि परिचय पत्र बोकेर मात्रै सञ्चालन गर्न पाइनेछ। होटल तथा रेष्टुरेन्टहरु पनि बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ।
मालसामान ढुवानी गर्नेहरुलाई भने उपमहानगरपालिकाले सुरक्षा सतर्कता अपनाएर काम जारी राख्न भनेको छ।
उपमहानगरले संक्रमण फैलिने जोखिम बढेकाले घरबाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आह्वान गरेको छ। नगरक्षेत्रमा शंकास्पद संक्रमित र ज्वरो, रुघाखोकीका बिरामीको संख्या धेरै रहेकाले सुरक्षित रहन उपमहानगरको अपील छ।
उपमहानगरले समुदायस्तरमा कन्ट्याक्ट ट्रेसिङको कामलाई तीब्र रुपमा अघि बढाउँदैे समुदायस्तरको अवस्थाबारे अध्ययन गरेर थप निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए।
उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार बुटवलका १४देखि १९ नम्बर वडामा बाहेक सबैजसो क्षेत्रमा सक्रिय संक्रमित रहेको स्वास्थ्यकर्मीहरुले रिपोर्ट तयार गरेका छन्।
'हाम्रो अहिलेसम्मको अध्ययनअनुसार बुटवलको मुख्य बजार क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा देखिएको छ र कतिसंख्यामा संक्रमित छन् भन्ने नै यकिन भएको छैन, उनले लुम्बिनी टाइम्ससँग भने-यसका लागि हामीले तीब्र रुपमा कन्ट्याक्ट ट्रेसिङको काम अघि बढाउँछौं र बुटवलमा कसरी नियन्त्रण गर्न सकिन्छ त्यसमा जोड दिन्छौं, अहिले तत्काल लकडाउनको पालना नगर्ने हो भने स्थिति भयावह हुनसक्छ।'