भैरहवा–नेपाल आयल निगमको भैरहवास्थित हवाई इन्धन डिपो शिल गरिएको छ। गौतमबुद्ध विमानस्थल भैरहवास्थित डिपोमा कार्यरत कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएपछि शुक्रबारबाट डिपोको सबै सेवा बन्द गरी शिल गरिएको हो।
‘डिपोमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि बिहीबार ४ जनाको स्वाब परिक्षणका लागि पठाएका थियौ, आज आएको परीक्षण रिर्पोटमा ४ जना कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएसँगै डिपो नै शिल गरेका छौं’–नेपाल आयल निगम भलवारी डिपोका सूचना अधिकारी रमेश ज्ञवालीले भने।
जनस्वास्थ्य कार्यालयसँग समन्वय गर्दा जाँच गर्न धेरै समय लाग्ने भन्ने जानकारी आएपछि निगमकै पहलमा बुटवलस्थित नेशनल प्याथ ल्याबबाट डिपोको ४ जनाको कोभिड १९ परीक्षण गराइएको थियो।
‘शुक्रबार उनीहरुको रिर्पोट आएपछि होम क्वारेन्टाइन राखेका छौ, एयरपोर्टस्थित डिपोका अन्य बाँकी कर्मचारी र परिवार सहित थप १६ जना तथा भलवारी डिपोमा कार्यरत ४० जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको छ’–सूचना अधिकारी ज्ञवालीले लुम्बिनी टाइम्सलाई बताए।
उनीहरुको रिर्पोट शनिबारसम्म आउने उनले बताए। हाल हवाई सेवा पनि बन्द नै छ। विमानस्थलको डिपो बन्द गरेपनि भलवारी डिपोलाई स्यानेटाइज गरी अतिआवश्यक सेवा भएकोले सेवा सुचारु हुने उनले बताए।
पेट्रोलियम पदार्थ अतिआवश्यक सेवामा पर्ने, भारतबाट आउँदा जोखिम समेत हुने भएकोले स्वाब संकलन गरेपनि भलवारी डिपोमा काम भने निरन्तर छ। विमानस्थलको हवाई इन्धन डिपोको सन्दर्भमा परिक्षणको नतिजा नआउञ्जेल सम्मका लागि होम क्वारेन्टाइनमा रहने गरी सबै सेवा बन्द गरेको निगमले जानकारी दिएको छ।