गुल्मी । गुल्मीको आलुलाई ब्राण्डिङ्ग गर्ने काम सुरु भएको छ । मालिका गाउँपालिकामा उत्पादन हुँदै आएको स्थानीय जातको आलुलाई बजारीकरण गर्न आलु ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग गरी बजारमा ल्याइएको हो ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी कृषकलाई उचित मूल्य प्रदान गर्न आयातित संस्कार र परिकारको साटो आर्गानिक परिकारलाई प्राथमिकता दिन रैथाने आलुलाई बजारमा ल्याइएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अर्खाबाङ्ग लगायतका क्षेत्रमा उत्पादन हुँदै आएको रैथाने आलुको प्रचारप्रसार गरी बजारीकरण गर्न गाउँपालिका र कृषि ज्ञान केन्द्र गुल्मीले आलु ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग गरी बजारमा ल्याइएको हो ।
अर्खबाङ्ग क्षेत्र आलु उत्पादनको लागि जिल्लाकै प्रसिद्ध मानिन्छ । उपयुक्त हावापानी हुँदा थोरै मेहनतमा यहाँका कृषकले मनग्य आम्दानी गरिरहेका छन्। यस क्षेत्रको आलु अर्गानीक भएकाले खानामा स्वादिष्ट र पोसिलो मानिन्छ । स्थानीयले वषौंदेखि बारीमा आलुको बिउ बिना नै परम्परा देखि आलु खेती गर्दै आई रहेका छन् । यसबाट गाउँका कृषकले बजार पाउने र सहरका उपभोक्ताले गुणस्तर पाउनेछन्।
ग्रामीण क्षेत्रमा उत्पादन भएको रैथाने आलुलाई ५ केजी, १० केजी र २० केजीका बोरामा प्याकेज गरेर तम्घास, बुटवल लगायतका ठुला बजार क्षेत्रमा पुर्याउने तयारी भइरहेको मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयो ।
मालिकाको रैथाने सेतो आलु एक वर्ष लगाएपछि बसौँ लगाउन नपर्ने र पटक पटक यसले उत्पादन दिई रहने यहाँको आलुको विशेषता नै हो । यस वर्ष करिब ६६० रोपनी आलु पकेट क्षेत्रमा ३ सय टन भन्दा धेरै आलु फलेको छ ।