भैरहवा–आइतबारदेखि लागू हुने गरी भदौ ५ गते राती १२ बजे सम्मका लागि सिद्धार्थनगर नगरपालिका क्षेत्र पूर्ण रुपमा लकडाउन गरिएको छ।
नगर क्षेत्रमा बढ्दो कोभिड १९को संक्रमण थप फैलिन नदिन सिद्धार्थनगर नगरपालिकाले लकडाउन गरेको हो।
बिहान ९ बजे सम्म सामान्य चहलपहल भएपनि सिद्धार्थ राजमार्ग बाहेकका सबै क्षेत्र सुनसान छन्। सडकमा फाटफुट सवारी साधन चलेका देखिन्छन्। लकडाउनका कारण अहिले मानिसहरु सडकमा हिडडुल गर्न पाएका छैनन्।
सरकारको निर्णयलाई नागरिकले सहज रुपमा लिएका छन्। सडकमा अत्यावश्यक सेवाका सवारी साधन बाहेकका सवारी साधन सञ्चालन भएका छैनन्।
सडकमा परिचालित सुरक्षाकर्मीले घरबाहिर निस्केका सर्वसाधारणलाई घर भित्रै बस्न, अनावश्यक घर बाहिर ननिस्कन आग्रह गरेका देखिन्छन्।
नगरको प्रवेश नाका शान्तिनगर, बेलहिया, अञ्चलपुर, गल्लामण्डी चोक लगायतका ठाउँबाट अतिआवश्यकलाई मात्र प्रवेश दिइएको छ।
सिद्धार्थनगररमा अहिलेसम्म ५६ जनामा संक्रमण देखिएको छ। जसमध्ये १० जना उपचार गरेर घर फर्किएका छन् भने बाँकी ४६ जना सक्रिय संक्रमित रहेको सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमा थापाले जानकारी दिइन्।