नेपालगन्ज–बाँकेमा कोरोना भाइरसको सङ्क्रमणबाट ६२ वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको छ।
शिक्षण अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ निवासी ६२ वर्षीय पुरुषको गएराती करिव १२ बजे उपचारकै क्रममा मृत्यु भएको भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, फोक्सोमा निमोनिया भएपछि साउन ३२ गते उनलाई उपचारको लागि अस्पताल ल्याईएको थियो। कोरोनाको लक्षण देखिएपछि भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षणमा सोमवार दिउँसो पोजिटिभ रिपोर्ट आएको थियो।
नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।
बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ। नरैनापुर गाउँपालिका ५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिला र कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ।