भैरहवा–रुपन्देहीमा अपराधका घटनामा कमी आएपनि आत्महत्या, अभद्र व्यवहार, यौन दुर्व्यवहारका घटना दर्ता बढेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्यांकअनुसार २ वर्षदेखि बढेको अपराधको घटना आर्थिक वर्ष २०७६/०७७ मा ४ सय ७१ ले घटेको छ।
प्रहरीको तथ्यांकमा आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ६ सय ५२, २०७५/७६मा १ हजार ८ सय ३७ वटा अपराधका घटना प्रहरीमा दर्ता भएपनि गत आव २०७६/०७७ मा घटेर १ हजार ३ सय ६६ वटा अपराधका घटना प्रहरीमा दर्ता भएको छ।
२ वर्षदेखि बढ्दै गएको ज्यान सम्बन्धि, चोरी, संगठित तथा आर्थिक, सामाजिक महिला तथा बालबालिका सम्बन्धि अपराधका घटनाको दर्ता घटेपनि आत्महत्या, अभद्र व्यवहार, यौन दुर्व्यवहारका घटना बढेको हो।
जिल्लामा प्रहरी कार्यालय रुपन्देहीमा आर्थिक वर्ष ०७६/०७७मा कुल १ हजार ३ सय ६६ मुदा दर्ता भएकोमा ८ सय ५३ वटा मुद्दा फछर्यौट भएको छ।
दर्ता भएका मुद्दामध्ये ६२ प्रतिशत मात्र फछर्यौट भएको छ भने ५ सय १३ वटा बाँकी मुद्दा यस आवमा फछर्यौटका लागि थपिएको छ। कार्यालयले आव २०७४/७५मा ९९ प्रतिशत, आव २०७५/७६मा ८९ प्रतिशत मुद्दा फछर्यौट गरेपनि यसवर्ष ६२ प्रतिशत मात्र फछर्यौट गरेको छ।
विगतका वर्षहरुभन्दा यसवर्ष कम घटना दर्ता भएपनि मुद्दा फछ्र्यौटमा कमी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक खड्ग बहादुर खत्रीले बताए।
भवितव्य ज्यान, फुटकर ज्यान, आत्महत्या लगायतका मुद्दा दर्ता भएको म्याददेखि २ वर्ष पछि तामेलीमा जाने हुँदा फछर्यौट बढी नभएको देखिएको उनले बताए। ‘अन्य मुद्दाका घटना फछर्यौट भएका छन्, कोभिड १९ले केही असहज गराएपनि मुद्दा, अनुसन्धानको काम निरन्तर भएको छ’–प्रवक्ता खत्रीले लुम्बिनी टाइम्ससँग भने।
कार्यालयका अनुसार ज्यानसम्बन्धि २३७ वटा मुद्दा दर्ता भएकोमा २३ वटा, आत्महत्याका २२९ वटा मुद्दामध्ये १ वटा, चोरीका १२१ मुद्दा मध्ये २ वटा मात्र मुद्दा फछर्यौट भएको छ।
विगतका वर्षहरुभन्दा यसवर्ष नयाँ प्रकृतिका मुद्दा शिर्षकहरुमा पनि दर्ता भएको छ। अभद्र व्यवहारका १३३, जबरजस्ती करणी ६१, यौन दुव्र्यहारका ५, सार्वजनिक स्थानमा उपद्रयाईका ६, सवारी चोरीका ७ घटना दर्ता भएका छन्।
कार्यालयमा संगठित अपराधका १९१, सामाजिक अपराधका ३३५, महिला तथा बालबालिका सम्बन्धी मुद्दा १२१, सवारी सम्बन्धी १०९, १सय ४८ वटा लागुऔषधका, ठगीका ११, सरकारी छाप किर्ते १०,सवारी ज्यान ७८, बैकिङ्ग कसुरका १२ वटा र अन्य २३ शिर्षकका मुद्दा दर्ता भएका छन्।
आत्महत्याका घटना उस्तै
रुपन्देहीमा अन्य शिर्षकका अपराध घटनाहरुको दर्ता घटेपनि विगत ३ वर्षमा आत्महत्याका घटनामा कमी आएको छैन। आर्थिक वर्ष २०७४/०७५ मा २ सय २७, २०७५/७६मा २ सय २५ र २०७६/०७७ मा २ सय २९ वटा आत्महत्याका घटना प्रहरीमा दर्ता भएका छन्।
२०७५/७६मा १४८ वटा झुण्डी आत्महत्या भएको गत आवमा बढेर १६७ पुगेको छ। त्यस्तै झुण्डी आत्महत्या दुरुत्साहन ३, विष सेवन ५७, हाम फालेर र हातहतियारबाट १/१ जनाको अपराधको मुद्दा दर्ता भएको छ।
भन्सार चलान दोब्बर
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाभरि अवैध सामानहरु पनि नियन्त्रणमा लिई सम्बन्धि निकायलाई बुझाउदै आएको छ।
कार्यालयले गत वर्ष भन्दा झण्डै दोब्बर ४ करोड ८ लाख ८१ हजार बढि मुल्य बराबरको अवैध सामग्री भैरहवा भन्सार कार्यालय पठाएको छ।
आव २०७५/७६ मा २ करोड २४ लाखको सामान भन्सार कार्यालय बुझाएपनि आव २०७६/०७७मा किराना, विद्युत, सवारी साधान तथा चौपाया, कपडा लगायतका अवैध तथा तस्करीका सामान कार्यालयले नियन्त्रणमा लिई भन्सार चलान गरेको हो।