बुटवल- बुटवल उपमहानगरपालिकाले होम आइसोलेशनमा बसेका संक्रमित र तिनका परिवारलाई भेटेर आयुर्वेदिक जडिबुटीहरु बाँडेको छ।
होम आइसोलेशनमा बसेका संक्रमित र तिनका परिवारलाई बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीसहितको टोली स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्दतिका आयुर्वेद ओखती बोकेर आइसोलेशनमा पुगेको हो।
बुधबार विभिन्न २६ स्थानमा रहेको होम आइसोलेनका संक्रमितलाई घरमै पुगेर मेयर सुवेदीले भेटघाट गर्दै स्वास्थ्य लाभको कामना गर्नुभएको छ । त्यसक्रममा समुदाय स्तरमा सचेतनाका पत्र र सावधानीका उपायका बारेमा समेत सुरक्षा प्रवन्धसहित जानकारी गराउने गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए।
प्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, होम आइसोलेशन रहेका सम्बन्धित वडाका अध्यक्षहरु रामचन्द्र क्षेत्री, नारायणप्रसाद पुन र उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहसहितको टोलीले सुरक्षा प्रबन्धसहित संक्रमितको स्वास्थ्य लाभको कामना गर्न होम आइसोशनमा पुगेका हुन्।
संक्रमितको मनोबल बढाउन आयुर्वेद र स्वास्थ्यलाभको पत्र बोकेर बुटवलका मेयर होम आइसोलेशनमा जान थालेको जानकारी दिंदै उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले महामारी नियन्त्रणको अभियानसंगै अब यसलाई पनि निरन्तरता दिइने बताए।