दाङ–पुस, माघको कठ्याङ्ग्रीदो जाँडोमा रातीको समयमा सडक चहार्दै सडकमा अलपत्र परेका मान्छे खोज्ने एउटा अभियान शुरु भयो। शुरुका दिनमा त धेरैले विश्वास मानेनन्। ‘पागल’हरुलाई कति दिन पाल्न सक्छन् भन्ने प्रश्न गरे।
‘कतैबाट डलर ल्याएर यस्तो गर्दैछन्’-आरोप पनि लागे। तर, सडक मानवमुक्त गर्ने अभियान रोकिएन। रात दिन गरेर सडकमा अलपत्र मानिसहरुको खोजी जारी रह्यो।
अनि निलसागर आश्रममा राखियो। अहिले त्यसरी सडकमा आश्रित व्यक्तिहरु सडकपेटिमा देखिदैनन्।
यो अभियानको कमाण्ड सम्हाल्ने व्यक्ति थिए प्रकाश विष्ट। ‘सुरुका दिनमा मानिसहरुले आश्चर्य मान्नुभयो। यो कसरी सम्भव छ भनेर, तर, हामीले सम्भव छ भनेर देखायौं’-उनले विगत सम्झदै भने–‘सडकमै खाने, सडकमै सुत्ने ती हाम्रा बुवा, आमा, भाई बहिनीसरहका मानिसहरुले अहिले नयाँ जीवन बिताईरहनु भएको छ।’
यस्तै सडकलाई आफ्नो घर मान्ने मध्येका एक लमहीमा ‘पप्पु’नामबाट चर्चित थिए। गुट्खाको लागि बटुवा र व्यसायीसँग पाँच-दश रुपैयाँ उठाउँथे। धेरैले दिन्थे पनि। न उनको वास्तविक नाम थाहा छ, न ठेगाना नै। पहिचानविहिन उनलाई लमहीबासीले ‘पप्पु’को उपनाम दिए।
अनि उनी सबैको ‘पप्पु’ बने। तर, हिजो आज उनि लमहीमा भेटिदैनन्। केही समयदेखि उनको दिनचर्या निलसागर सेवा आश्रम पिपरीमा बित्ने गरेको छ।
परिवारसँग बिछोड भएर सडकमा आएका पप्पु जस्तै धेरैको दिनचर्या आश्रममा बित्ने गरेको हो। सडकमा अलपत्र परेका मानवहरुको उद्धार गरेर आश्रममा राख्ने गरिएको धेरै भएको छैन। तर, यो अभियानले यहाँ सार्थकता पाएको छ। सडकमै खाने, सडकमै सुत्ने दिनचर्या थियो। आकाश छत थियो, खुल्ला सडक घर।
सडकमा भेटिने धेरै मानिसले हेला र अपहेलना गर्थे। भोक लागेर खाना खोज्दै होटल तथा घरमा पस्दा धेरैले दुर्व्यवहार गर्थे। यस्तो जीवन बिताएका सडकमा आश्रित मानवहरुको उद्धारपछि उनीहरुको सहज जीवनयापन भएको छ। धेरैलाई विश्वास नलाग्न सक्छ। तर, दाङका सडकमा भेटिने मानवहरुको उद्धार गरेर नयाँ जीवन पाएका छन्।
दाताको सहयोगमा निलसागर सेवा आश्रमले गति लिएको छ। ‘सरकारको नगद सहयोग आएको छैन। दाताहरुको दाल, चामल सहयोगले अहिले सम्म यहाँ रहनुभएका आमा, वुवा, भाई, बहिनीहरुको सेवा गरिरहेका छौं’-निल सागर सेवा आश्रमका संयोजक प्रकाश विष्टले भन्ने–‘कसैले जन्मदिन यहाँ आएर मनाउनुहुन्छ। कसैले वैवाहिक वर्षगाँठ यही मनाउनुहुन्छ। त्यसैगरी सहयोग संकलन भैरहेको छ।’ एक सय ९५ जना भन्दा बढीले आश्रमलाई खाद्यान्न सहयोग गरेको रेकर्ड छ। दाताको सहयोगमा सडकमा अलपत्र परेका मानवहरुको सेवा गरिएको छ।
गत पुस ९ गते आश्रम सञ्चालनमा आएको हो। आश्रममा अहिले ३१ जना आश्रित व्यक्ति छन्। तीन जनालाई यसअघि परिवारमा पुनर्स्थापना गरिएको छ। आश्रममा २० जना पुरुष र ११ जना महिला रहेका छन्।
आश्रममा रहेकाहरुले आफ्नो नाम, ठेगाना बताउन सक्ने अवस्थामा छैनन्। ‘यहाँ रहनुभएकाहरुको परिचय नै खुलेको छैन। नाम, ठेगाना बताउन सक्ने अवस्था छैन। परिवारमा पुर्नमिलन गराउन सकिने अवस्था भएन’विष्टले भने–‘जीवनरहे सम्म उहाँहरुलाई आश्रममै राख्नुपर्ने हुन्छ। त्यसको लागि दिगो स्रोत र भौतिक संरचनाको आवश्यकता छ।’
घोराही, तुलसीपुर, लमही, भालुवाङ्ग, गढवा लगायतका बजारबाट सडकमा आश्रित मानवहरुको उद्धार गरिएको हो। अहिले पनि छिटपुट मात्रामा सकडमा आश्रित मानवहरु सडकमा देखिन थालेका छन्। उनीहरुलाइ पनि उद्धार गरेर राख्नको लागि पूर्वाधार र जनशक्तिको अभाव रहेको विष्टले सुनाए। ‘अब एउटा फराकिलो घरको आवश्यकता छ’-उनले भने–‘एक जना दाताले दिएको घरमा आश्रम चलाएका छौं। सबै दाताको सहयोगमा यो अभियान सम्भव भएको हो।’