दाङ–जिल्ला प्रशासन कार्यालय रोल्पामा त्रिवेणी घटनाका पिडितलाई राहत दिनको लागि आएको २४ लाख रुपैयाँ बैंक खातामै थन्किएको छ। सरकारले प्रति परिवार ६ लाख गरी २४ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयको खातामा पठाएको थियो।
पिडित परिवारले रकम नबुझ्दा रकम खातामै रहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले बताए। संघ सरकारले पठाएको प्रति परिवार पाँच लाख र प्रदेश सरकारले पठाएको प्रति परिवार एक लाख गरी २४ लाख रुपैयाँ अहिले खातामै रहेको हो।
‘बुझ्न मान्नु भएको छैन्। पिडित परिवारले रकम नबुझ्दा खातामै छ’-प्रजिअ रानाले भने–‘प्रदेश ५ सरकारले मृतकको सम्झनामा चिल्ड्रेन पार्क बनाउने भनेर दश लाख रुपैयाँ बजेट समेत बिनियोजन गरेको जानकारीमा आएको छ ।’
पिडित पक्षले भने राहत रकममा जालझेल भएको आरोप लगाएका छन्। सुरुमा दश लाख केन्द्र सरकारले दिने भनेर निर्णय भएको बताइएपनि अहिले पाँच लाख मात्रै पठाएर पिडित परिवारलाई अन्यायमा पार्न खोजेको बताएका छन्।
‘शव बुझ्ने बेलामा धेरै कुरा भनियो। शव बुझियो। तर, पछि स्थानिय, प्रदेश र संघ सरकारको कुराहरु फेरिदै आए’-मृतकमध्येका एकजनाका मामा कृष्ण नेपालीले भने–‘हामीले राखेका मागहरु सम्वोधन नहुदा सम्म रकम बुझ्दैनौं।’
पिडित परिवारहरुले स्थानीय सरकारको तर्फबाट प्रभावकारी समन्वय नहुदा आफुहरुले न्याय पाउन नसकेको बताएका छन्। गत बैशाख १८ गते बेलुका बाख्रा गोठालो गएको समयमा बम पड्किएर १३ वर्षिय गौरव नेपाली सहित १४ वर्षिय नोखिराम डाँगी, ११ वर्षिया विमला केसी र विमलाका ५ बर्षिय भाइ विजय केसीको मृत्यु भएको थियो। घटनाको स्वतन्त्र अध्ययन गरेर दोषी माथी कारबाहीको माग पिडित पक्षले राखेका छन्। सरकार यस घटनामा गम्भिर नभएको आरोप उनीहरुले लगाएका छन्।
गौरव नेपाली सहित चार घर परिवार अहिले न्यायको पर्खाइमा छन्। पिडित परिवारले द्धन्द्धकालमा फालिएको बम बिष्पोट हुदा घटना भएको हुन सक्ने भन्दै मृतकहरुलाई शहिद घोषणा गरेर सम्मान गर्न माग राखेका छन्।
प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएर परिवारको तर्फबाट घटनाको सत्य तथ्य छानविन गर्न माग राख्दै मृतकहरुको सम्मान र सम्झनाको लागि शहिद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति र शहिद पार्क निर्माण गर्न माग राखेका हुन ।
तर, यस बिषयमा सरकारले सुनुवाई नगरेर झनै पिडा माथि पिडा थपिएको महशुस यी परिवारका सदस्यले गरेका छन्।
'प्रमुख जिल्ला अधिकारी सहित प्रत्यक्ष निर्वाचित माननीय ज्यूहरुलाई जानकारी गराएका छौं । तर, कुनै ठोस निर्णय आएको छैन’-गौरवका मामा कृष्ण नेपालीले भने–‘कहिले सम्म न्याय पर्खिने । कुरेर थाक्न थालिसक्यौं ।’