दाङ–सिमेन्ट, गिट्टी, बालुवा मोल्ने काम चलिरहेको छ। कोही नाला ढलानमा व्यस्त छन्। कोही मसला पुर्याउँदैछन्। अनुहारबाट पसिनाको ढिका जमिनमा खस्दा सम्म काम गरिरहेका छन् २३ बर्षिय डम्बरबहादुर खत्री।
शान्तिनगर गाउँपालिका हंशपुर घर भएका २३ वर्षिय डम्बरबहादुर खत्री भारत गोवामा काम गर्थे। कोरोना भाइरसको महामारी फैलिएपछि लकडाउन भयो। त्यसपछि गोवाको काम बन्द भयो। लकडाउनमै घर आएका खत्रीले गाउँमै काम खोजे। सडक बनाउने काममा श्रमिकको रुपमा काम पनि पाए। उनलाई लकडाउनमा समेत खाली बस्नु परेको छैन।
‘भोको पेटले काम नगर भन्दो रहेनछ। गोवाको काम बन्द भएपछि घर आएँ। यहाँ काम खोजे बाटो बनाउने काम भेटियो’-उनले भने–‘घरमा खाली बस्नु भन्दा काम गरे आम्दानी पनि हुने, घर खर्च पनि चल्ने।’
कोरोनाले गर्दा रोजगारी खोसिएपछि घर फर्किएका युवाहरुले स्थानीय स्तरमा चलेका विकास निर्माणको काममा रोजगारी पाउन थालेका हुन्। तुलसीपुर घर भएका वीरबहादुर पुन अब कक्षा ११ मा भर्ना हुने तयारीमा छन्।
एसइइ पास भएपछि उनी विद्यालय कहिले खुल्ला र पढ्न जान पाइएला भन्ने प्रतीक्षामा छन्। तर, यो बीचको खाली समयमा श्रमिकको रुपमा खटिएका छन्।
बेल्चा चलाउदै आर्थिक जोहोमा जुटेका हुन्। ‘एसइइ पनि दिन पाइएन। पछि स्कुलले नम्बर पठाएर पास भैयो। अब स्कुल कहिले खुल्छ ? केही थाहा छैन। खाली बस्नु भन्दा म त काम गर्न हिडे’-उनले भने–‘स्कुल खुल्यो भने पढ्न जान्छु। न खुल्दा सम्म यस्तै काम गर्ने हो।’
डम्बरबहादुर र वीरबहादुर घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ मा बन्दै गरेको पर्यटन सडक निर्माणमा खटिएका छन्।
धारापानी, भैंसकुर, गोग्ली, डाँडागाउँ हुदै सवारीकोट जोड्ने सडक निर्माणमा जिल्ला भित्रका युवा श्रमिक परिचालन गरिएको छ। अहिले दुई ओटा प्याकेजमा काम भैरहेको छ।
‘जिल्ला बाहिरबाट मजदुर ल्याएका छैनौं, स्थानीय युवालाई नै काममा खटाएका छौं’-प्रभुदेव निर्माण सेवाका प्रतिनिधि राजनाथ योगीले भने–‘लकडाउनले गर्दा रोजगारविहीन भएर बस्नु परेका व्यक्तिलाई प्राथमिकतामा राखेर काम पनि दिएका छौं, जनशक्ति पाउँदा कामले गति समेत लिएको छ।’
सडक निर्माण र नाली निर्माणको कामले तीब्रता पाएको छ। मंसिरसम्ममा दुई ओटा प्याकेजको काम सक्ने लक्ष्यका साथ काम भैरहेको छ। करिब १० किलोमिटर लामो सडक कालोपत्रे गर्न १३ करोड बजेट रहेको छ। यो बजेट मार्फत धमाधम काम अघि बढेको छ। गाउँको सडक कालोपत्रे हुन थालेपछि स्थानीय पनि खुसी भएका छन्।
गुणस्तरयुक्त सडक निर्माणमा ध्यान दिन स्थानीय भक्तबहादुर केसीले आग्रह गरे। ‘यो सडक गाउँको भविष्यसँग जोडिएको छ। स्टिमेटअनुसार काम गर्न हामीले पनि ध्यान दिएका छौं’-केसीले भने–‘कामलाई गति दिन हामीले पनि सहयोगीको भूमिका खेलेका छौं।’
कोरोना भाइरसले रोजगारीमा पारेको असरबाट माथि उठ्न स्थानीय स्तरमा रोजगारीका अवसरहरु प्रशस्त मात्रामा सिर्जना गर्न विकास निर्माणका कामहरु विकल्प हुन सक्ने प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बताएका छन्।
घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ मा निर्माण भैरहेको सडकको अनुगमनका क्रममा उनले सडक निर्माणको काममा युवा मजदुर खटिएको पाएपछि यस्तो बताएका हुन्। साथै उनले पारदर्शीताको आधारमा काम गर्न सम्वन्धित पक्षलाई आग्रह गरेका छन्।