बुटवल–कोरोना महामारीले असर नगरेको क्षेत्र नै छैन। बढी असर परेको क्षेत्रमध्येको एक हो मिडिया क्षेत्र। नेपालका मिडियाको आर्थिक अवस्था कस्तो रहेछ भन्ने प्रष्ट तस्वीर कोरोना महामारी सिर्जित लकडाउनले देखायो। अरुका बेथिति र विसंगतिका, श्रम र श्रमिकका आवाज र अधिकारका कुरा उठाउने मिडिया आफै थला परे।
मिडियामा लाखौं करोडौंको लगानी गरेको बताएपनि पत्रकार र कर्मचारीहरुलाई केही महिना पनि नियमित पारिश्रमिक दिन सकेनन्। काठमाडौंमा रहेका र काठमाडौंबाहिरका मिडियाको अवस्था उस्तै रह्यो।
ठूलो सञ्जाल रहेको भनिएका कान्तिपूर, नागरिक, अन्नपूर्ण पोष्ट प्रकाशन गर्ने सञ्चार संस्थाले आफ्ना केही सहप्रकाशनहरु बन्द गरे। केही मिडियाहरु अनलाईनकेन्द्रित भए। ती मिडियामा आवद्ध रहेका पत्रकार र कर्मचारीलाई काम गर्न असहज अवस्था आयो, उनीहरुलाई आफै काम छाडेर जान बाध्य पार्नेखालका अवस्था सिर्जना भए। काठमाडौंमा रहेका मिडियाका प्रादेशिक संस्करणहरुको प्रकाशन बन्द भएका छन् र ती कार्यालयमा कार्यरत कर्मचारीहरु कटौती गरेका छन्।
त्यसको असर काठमाडौंबाहिर रहेर काम गर्ने ती मिडियाका पत्रकार र कर्मचारीमा पनि पर्यो। यस्तै असर काठमाडौंबाहिरका शहरहरुमा रहेका मिडियामा पनि प¥यो। धेरै मिडिया र गुणस्तरीय सामग्री उत्पादनका दृष्टिले अग्रपंक्तिमा नाम आउने बुटवलका मिडियामा पनि अवस्था उस्तै देखियो।
प्रदेश ५ का सबैजसो पत्रपत्रिकाले चैतदेखि बैशाखसम्म प्रकाशन बन्द गरे। रेडियो, टिभी भने निरन्तर थिए। ती मिडियाले यसबीचको पारिश्रमिक सबै पत्रकार र कर्मचारीलाई दिएनन्। सीमितलाई मात्रै दिए। त्यसयता पनि अधिकांश मिडियाले पत्रकार र कर्मचारीलाई आंशिक रुपमा जिम्मेवारी दिएका छन्। काठमाडौंका मिडियामा कार्यरत अधिकांश पत्रकार र कर्मचारीले नियमित पारिश्रमिक पाएका छैनन्। तर, धेरै पत्रकारहरु खुलेर कुरा गर्न चाहन्नन्।
अधिकांश क्रियाशील पत्रकारहरु लकडाउनको यो अवस्थामा पनि फिल्डमा गएर रिपोर्टिङ गरिरहेका छन्। क्वारेन्टिनदेखि आइसोलेशनसम्म पुगेर उनीहरुले समाचार तयार पारेका छन्। यसरी खटिएका पत्रकारहरुको अवस्था के छ, कसरी काम गरिरहेका छन्। यसबारे प्रदेश ५ का केही प्रतिनिधि पत्रकारहरुसँग गरिएको कुराकानी उनीहरुकै शब्दमा।
माधव नेपाल-संवाददाता, बिबिसी/कार्यकारी निर्देशक, बुटवल एफएम
लकडाउनको समयमा स्वास्थ्य सुरक्षा अपनाएर काम गरिरहेको छु। सुरक्षाका मापदण्ड अपनाउँदा अपनाउँदै पनि रेडियोमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखियो। पोजेटिभ देखिएपछि घरघरबाट काम गर्ने वातावरण पनि मिलायौँ। सोहीअनुसार आफुले पनि रिपोर्टिङ्ग गरे।
लकडाउन अवधिभर कर्मचारीको पारिश्रमिक तथा रेडियोको खर्च व्यवस्थापनमा खासै समस्या भएन। तर, अब भने कठिन हुने देख्छु। किनकी बजार पूर्ण रुपमा खुलेका छैनन्। आर्थिक गतिविधि पनि ठप्प छन्।
रेडियोमा करिब ५० प्रतिशतले विज्ञापन पनि घटेका छन्। रेडियोको आयस्रोत भनेको विज्ञापन नै हो। त्यसैले आगामी दिनमा अझ बढी समस्या उत्पन्न हुने देख्छु।
दिपेन्द्र बडुवाल-प्रमुख–कान्तिपुर, प्रदेश ५
न्युनतम सुरक्षा मापदण्ड अपनाएर नै काम गरेको छु। मिडिया हाउसले जोखिम मोलेर रिपोर्टिङ्ग नर्गन अनुरोध पनि गरिरहेको छ। सकेसम्म वैकिल्पक उपायहरु अपनाएर घरमा नै बसेर रिपोर्टिङ्ग र सम्पादन गरिरहेको छु। अत्यावश्यक परेको खण्डमा मात्र फिल्डमा हिडेको छु। त्यस समयमा भने मनको बाघले खाइरहने भने रहेछ। अन्य संवाददाताहरुलाई पनि जोखिम नमोल्न अनुरोध गरेको छु।
हाल सबै सञ्चार माध्यमलाई एक किसिमको चुनौती सिर्जना भएको छ। अब यसतर्फ सबैले सोच्नुपर्ने बेला पनि आएको छ। संस्थाबाट पारिश्रमिक नियमित नै पाएको छु। यस समयमा बाहिर हिड्डुल गर्नुपरेको छैन। हिडेपनि खर्च खासै भएको छैन। त्यसैले बरु बचत भएको छ।
विष्णु प्रसाद घिमिरे-प्रमुख–नयाँ पत्रिका दैनिक, प्रदेश ५
सबै किसिमका सुरक्षा मापदण्ड अपनाएर काम गरेँ। सोहीअनुसार अन्य संवाददातालाई पनि अनुरोध गरिरहेको छु। सुरुवातको समयमा हालको परिप्रेक्ष्यमा मनोवैज्ञानिक डर बढी थियो। यद्यपि, रिर्पोटिङ्गका कामहरु भने भइरहे। मिडिया हाउसले नियमित रुपमा तलब उपलब्ध गराएको छ। यस अवधिमा आर्थिक समस्या भने उत्पन्न भएन। लकडाउनमा महासंघको भूमिका सकारात्मक नै मान्नुपर्दछ।
रेखा भुसाल-संयोजक, नागरिक दैनिक प्रदेश ५
नियमित नै पारिश्रिमिक पाएकी छु। तर, लकडाउनको सुरुवातको एक डेढ महिना भने रोकियो। कतिपय अवस्थामा भने सामान्य अवस्था भएपछि उपलब्ध गराउने गरी केही प्रतिशत कटौती गरेर पनि तलब पाएको अवस्था छ।
कोभिड–१९ को समयमा सुरुवातमा वैकिल्पक विधि अपनाएर पनि काम गरे।
तर, आवश्यक नै परेको खण्डमा भने स्थलगत रिपोर्टिङ्गका लागि गए। (जस्तैः कोरोना विशेष अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, लुम्बिनी बेलहिया दक्षिण भेगका क्वारेन्टिन स्थलहरु, नेपाल भित्रिने सीमा नाका, मर्चवार क्षेत्र)।
स्वास्थ्य सुरक्षाका उपायहरुको व्यवस्थापन आफै गरेकी छु। हरेक वर्ष औपचारिक तथा अघोषित रुपमा पूर्णकालीन कर्मचारीहरु पनि आशिंक हुने, कर्मचारी कटौती हुने लगायतका समस्या स्थानीय तथा केन्द्रको मिडियामा छ। तर, आफुले भने त्यस्तो समस्या भोग्नु परेको छैन।
यस अवधिमा मिडिया हाउसले समसामयिक विषयवस्तुका समाचारलाई राम्रो स्थान दिएर छापिदिए। प्रदेशको राजधानी बुटवल भएकोले पनि प्रदेशका योजना, बजेट लगायतका विषयवस्तुमा रुपन्देहीसँगै आसपासका जिल्लाका समाचारहरुले पत्रिकामा महत्वपूर्ण स्थान पाएको अवस्था छ। कतिपय अवस्थामा भने ढिला प्रकाशन गरेपनि हुने समाचारहरु केही पछाडि धकेलिएका पनि छन्।
हाल पत्रकारहरुलाई आर्थिक समस्या भइरहेको छ। यो यथार्थ हो। पत्रकार महासंघले लकडाउनमा पत्रकारका लागि राम्रो समन्वय ग¥यो। महासंघले नवीकरण सदस्यता शुल्कका विषयमा पनि स्रोत जुटाएर छुट दिन सके अझ राहत मिल्थ्यो कि ? भन्ने लाग्छ।
विक्रम खड्का-समाचार प्रमुख–बुद्ध टेलिभिजन, बुटवल
सबैका लागि कोरोना भाइरस नौलो थियो। सुरुवातको क्षणमा त्रासमा नै काम गरेँ। पूर्वतयारी केही पनि थिएन। डर मात्र थियो। टेलिभिजनका लागि फिल्डमा नै खटिनुपर्ने बाध्यता थियो। त्यसैले चैत्र १२ गते नै कार्यालयमा बैठक बसेर कसरी अगाडि बढ्ने भन्ने विषयमा योजना बन्यो र सोही अनुसार अगाडि बढ्यौँ।
स्वास्थ्य सुरक्षा अपनाएर अहिलेसम्म टेलिभिजनका सम्पूर्ण समाचार एवम् अन्य गतिविधिहरु प्रशारण भइरहेका छन्। अन्र्तवार्ताका कार्यक्रमहरु वैकिल्पक विधिमार्फत सञ्चालन गरिरहेका छौँ। कोरोना भाइरसका कारण भने बढी मनोवैज्ञानिक डर भयो। कार्यालयबाट घर फर्किदा पनि परिवारसँग बस्न जोखिम भएको महसुस हुन्छ।
सुरुवातका महिनामा नियमित नै तलब प्राप्त गर्यौ। पछिल्लो समयमा पछि उपलब्ध गराउने शर्तमा केही प्रतिशत कटौती गरेर तलब पार्यौ। संस्थाबाट कुनै पनि कर्मचारीलाई कटौती गरिएको छैन।
यद्यपि, स्रोत साधनको अभावमा टेलिभिजनमा आउन नसक्ने टाढाटाढा घर भएका कर्मचारीलाई भने बिदा दिएका छौँ। कोभिड १९ को समयमा पत्रकार महासंघ रुपन्देहीले राम्रा काम गरेको छ। तर, आफ्ना सदस्यहरुसँग भर्चुअल माध्यबाट भएपनि संवादहरुका कार्यक्रम सञ्चालन गरेको भए अझ बढी प्रभावकारी हुन्थ्यो होला।
कृष्ण मल्ल-सम्पादक–बुटवल टुडे दैनिक, बुटवल
कोरोना संक्रमणको जोखिमका कारण सुरुवातको समयमा केही समय पत्रिका बन्द भयो। यद्यपि, घरबाट अनलाइन संस्करणबाट भने काम भइरहेको थियो। केही समय कार्यालयमा कर्मचारीहरु बीचमा आलोपालो गरेर पनि काम गर्यौ।
तर अहिले भने कार्यालय बन्द छ। संस्थाले हाल भइरहेको काम प्रति प्रोत्साहन एवम् धन्यवाद व्यक्त गरेको छ। कर्मचारीप्रति संस्था सकारात्मक नै छ।
छिमेकी जिल्लाको तुलनामा पत्रकार महासंघ रुपन्देहीको उपस्थिति कमजोर देखिएको हो कि जस्तो लाग्छ। यस समयमा वैकल्पिक विधिमार्फत भएपनि तालिम एवम् छलफलहरु चलाउनुपथ्र्यो।
भगवती पाण्डे-समाचार प्रमुख–लुम्बिनी टीभी/संवाददाता–सेतोपाटी
सुरुवातको अवस्थामा भयावह स्थिति थियो। सबैतिर बन्द पनि थियो। तर, नागरिकलाई सुसुचित बनाउनका लागि मिडियाको भने थप जिम्मेवारी थियो। जीवन रहे मात्र मिडिया रहने भन्दै जोखिम नमोली काम गर्न संस्थाले अनुरोध पनि गरेको अवस्था छ। तर, समाजका यथार्थ घटना, संक्रमितका परिवार, क्वारेन्टिन, आइशोलेसन अस्पताल लगायतमा भने स्वास्थ्य सुरक्षा अपनाएर नै हिडे।
समुदायद्वारा सञ्चालित टेलिभिजन भएकोले हाल समुदायका नागरिकहरुमा अप्ठ्यारो परिस्थिति छ। फलस्वरुपः यसको प्रभाव मिडियामा पनि परेको छ। जसले गर्दा आम्दानीको स्रोत घटेको छ। तर, खर्च बढिरहेको छ। हालको परिस्थितिमा मिडिया मारमा नै छन्।
पारिश्रमिकको सन्दर्भमा केही ढिलाई भएको हुन सक्ला। तर, नपाएको भने अवस्था छैन। संस्थाबाट कर्मचारी पनि कटौती गरिएको छैन।
कोरोना महामारीमा कपिलवस्तुका संक्रमित क्षेत्र, रुपन्देहीका विभिन्न ठाउँहरु लुम्बिनी, बेथरी, देवदह, बुटवल, लगायतका स्थानमा पुगेर कोभिड –१९ सम्बन्धि र अन्य समाचारहरु पनि संकलन गरेको अनुभव छ। सेतोपाटीको हकमा नियमित नै पारिश्रमिक पाएकी छु। पत्रकार महासंघ रुपन्देहीबाट स्वास्थ्य सामग्री उपलब्ध भएको छ।
टोपराज शर्मा-वरिष्ठ संवाददाता, अनलाइनखबर
लकडाउनका कारण आर्थिक समस्या उत्पन्न भएको छ। आफुले काम गर्ने मिडिया हाउसबाट नियमित नै तलब पाएको छु। यद्यपि, पहिलेको तुलनामा हाल आर्थिक समस्या बढी भएको हो। करिब ६ महिनाको अवधिमा जोखम नै मोलेर काम गरे।
रिपोर्टिङ्गका लागि जाँदा स्वास्थ्य सामग्री (मास्क, स्यानिटाइजर, ग्लब्स) आफै व्यवस्थापन गर्ने गरेको छु। लकडाउनको समयमा संक्रमित रहेको स्थल, क्वारेन्टिन स्थल, संक्रमितको आशंकामा भएको बिरामीको डकुमेन्टको फोटो खिच्नेदेखि अन्य समसामयिक घटनाहरु भएका ठाउँमा गएर रिपोर्टिङ्ग गरेको अनुभव छ।
निकै कठिन परिस्थितिमा दिनमा बाईलाईनमा करिब १२ वटा सम्म समाचार लेखेको छु। यस समयमा काममा अलि बढी नै खटिएको अवस्था छ। कोरोना महामारीमा पत्रकार महासंघ रुपन्देहीले क्षमता अनुसार स्वास्थ्य सामग्री र राहत उपलब्ध गराएको छ। तर, राज्य पक्षबाट भने सञ्चार माध्यम र पत्रकारहरुका लागि कुनै पनि व्यवस्था हुन नसकेकोमा दुख लागेको छ।
लक्ष्मण पोखरेल-प्रमुख–अन्नपुर्ण पोस्ट, प्रदेश ५
पहिलो चरणमा भएको लडाउन अवधिमा घरबाट नै काम गरे। नियमित नै तलब पाएको छु। तलब आइसकेपछि घरखर्चमा चलाउन त्यस्तो समस्या पनि भएन। रिपोर्टिङ्गका लागि अत्यावश्यक ठाउँमा स्वास्थ्य सर्तकता अपनाएर मात्र गए।
पीपीई नै लगाएर जोखिम मोलेर काम भने गरेको छैन। हाम्रो मिडिया हाउसले जोखिमका साथ काम पनि नर्गन भनेको छ। त्यसैले आवश्यक पर्ने फोटोहरु सम्बन्धित क्षेत्रका व्यक्ति अथवा अन्य स्थानियहरु सँगको समन्वयमा पनि लिने गरेको छु।
यस समयमा लेखिएका समाचारप्रति मिडिया हाउसले राम्रो प्रतिक्रिया दिएको अवस्था छ। आफु पनि कामप्रति सन्तुष्ट नै छु। पत्रकार महासंघ रुपन्देहीले केही राम्रो काम गरेको छ तर, पत्रकारहरुका लागि फेलोशिप चलाएको भए हुन्थ्यो। जो लकडाउनको अवधिमा बेरोजगार भएका छन्, उनीहरुका लागि सम्बोधन गर्न सकेन कि जस्तो लाग्छ।
गोपाल भण्डारी-संवाददाता–एभिन्युज टेलिभिजन र अन्नपुर्ण पोस्ट
करिब दुई दशकदेखि विभिन्न सञ्चार माध्यममा आवद्ध छु। कोरोनाको त्रासमा मास्क, स्यानिटाइजर नै प्रयोग गरी आफै संयमित भएर काम गरे। टेलिभिजनका लागि भिडियो महत्वपूर्ण हुने भएकोले जोखिम नै मोलेर रिपोर्टिङ्ग गरिरहेँ। सुरुवातका दिनमा भारतबाट नेपाल आउनका लागि बोर्डरमा रहेका दुई तिन हजार नागरिकहरुसँग स्थलगत रिपोटिङ्ग गरेको अनुभव पनि छ।
सुरुवातका दिनमा कपिलवस्तुमा संक्रमितको संख्या अरुको जिल्लाको तुलनामा बढी थियो। त्यतिबेला बिहान हिडेर साँझ घर फर्कन्थेँ। नुहाएर मात्र आफ्नो परिवार सँग बस्थे। आफ्नो कारण परिवारमा कोरोना सर्छ कि भन्ने डर लाग्थ्यो।
नियमित पारिश्रमिक नपाएपनि ढिलो चाँडो भने पाउने गरेको छु। वैकिल्पक आम्दानीको स्रोत भएकाले घरखर्च चलाउन आर्थिक समस्या भने भएन। आफ्नो कामबाट सन्तुष्टि नै छु। अहिले एभिन्युज टेलिभिजनबाट प्रदेश ५ को उत्कृष्ट रिपोर्टरको रुपमा सम्मान पनि पाउने अवसर मिलेको थियो। स्थानीय पत्रिका साझा न्युज साप्ताहिकको सम्पादक पनि हुँ। पत्रिकामा ५ जना कर्मचारी छौँ।
२ जनालाई आधा तलब उपलब्ध गराउने गरी लकडाउनमा बिदा दिएका छौँ। म आफै पनि संक्रमित भएँ। सञ्चार क्षेत्रबाट कोरोना विरुद्धको लडाइमा लडिरहेँ। सुरुवातमा करिब १ सय डिग्रीको सेरोफेरोमा ज्वरो आयो, श्वासप्रश्वास फेर्न पनि कठिन भयो, अहिले सामान्य नै छु। एक किसिमको मनोवैज्ञानिक त्रास र डर भने हुँदो रहेछ।
जनार्दन घिमिरे-संवाददाता–रासस, नागरिक दैनिक र एभिन्युज टेलिभिजन
सुरक्षा सामग्री आफुले नै व्यवस्था गरेर रिपोर्टिङ्गमा हिड्ने गरेको छु। म आबद्ध मिडिया हाउसहरुले आफै सुरक्षित भएर भिडभाडमा नगई रिपोर्टिङ्ग गर्न अनुरोध गरेको अवस्था छ। केही मिडिया संस्थानबाट नियमित नै पारिश्रमिक पाएको छु। केही मिडियाबाट नियमित पाउन सकेको छैन। यसमा दुख लागेको छ।
लकडाउनमा ठूलो नै त होइन। यद्यपि, आर्थिक समस्या भने भयो। पहिले विभिन्न तालिमहरु दिएर पनि खर्च व्यवस्थापन गर्न सहज हुन्थ्यो। त्यो अहिले सम्भव भएन। लकडाउनको समयमा बाढी पहिरोस्थल, क्वारेन्टिनस्थललगायत अन्य समसामयिक विषयमा रिपोर्टिङ्ग गरेको अनुभव छ।
हरि शर्मा-संवाददाता–अन्नपुर्ण पोस्ट र इमेज टेलिभिजन
कोभिड–१९ को समयमा आफ्नै ढंगले सजगता अपनाएर स्थलगत समाचार संकलन गर्ने गरेको छु। मिडिया हाउसले घरमै बसेर काम गर्न सर्कुलर गरेको अवस्था छ। तर, कतिपय अवस्थामा वास्तविक वस्तुस्थितिबारे बुझ्न र स्थानीयको गुनासोसँगै पत्रकारिताको धर्म निर्वाह गर्न पनि सुरक्षा सतर्कता अपनाएर फिल्डमै जान्छु।
स्थानीय परासी साप्ताहिकमा पनि आबद्ध छु। हाल पत्रिका भने बन्द छ। पत्रिकामा ४ जना कर्मचारी छौँ। आधा तलब उपलब्ध गराउने सहमतिका साथ कर्मचारीलाई बिदा दिइएको छ। हाल पहिलेको तुलनामा आर्थिक अवस्था स्वतः घट्ने नै भयो। तलब ढिलोचाँडो आएको छ। मिडिया हाउसको प्रतिक्रिया पनि सकारात्मक नै छ।
कल्पना तिवारी-स्टेशन म्यानेजर–रेडियो मुक्ति, बुटवल
लकडाउनका कारण रेडियोमा करिब ७० प्रतिशतले विज्ञापन घटेका छन्। जसका कारण आम्दानीको स्रोत घट्दै गएको छ। हाल रेडियोमा समाचार, प्राविधिक क्षेत्रका कर्मचारीले पूर्णकालीन तथा आंशिक रुपले काम गरिरहेको अवस्था छ। हाल बजार बन्द छ। आम्दानीको स्रोत छैन। पत्रकारलाई रोजीरोटीको समस्या पनि भइसक्यो।
अब पत्रकारिता र सञ्चारमाध्यम धरापमा पर्छ कि भन्ने चिन्ता लागेको छ। संस्थाको नियमअनुसार अहिले सम्म तलब रोकिएको छैन। अबको दिनमा भने ठूलो चुनौती देखा पर्न सक्ने स्थिति छ।
लकडाउनमा घरपरिवार, समाज, कार्यालय सबैतिर समय मिलाएर सर्तकता अपनाउँदै काम काम गरिरहेकी छु। हाम्रो रेडियो महिलाहरुद्वारा सञ्चालित रेडियो पनि हो। रेडियोले लकडाउन बीचमा लैङ्गिक तथा महिला हिंसा, सन्देशमुलक विषयवस्तु, कोभिड विशेष लगायतका विषयवस्तु उठान गरेको छ। हालको परिप्रेक्ष्यमा सञ्चारमाध्यम र पत्रकारिता क्षेत्रका लागि तीनै तहका सरकार संवदेशील हुन जरुरी छ।
माधव अर्याल-उपसम्पादक–कान्तिपुर दैनिक, पाल्पा
कोभिड १९ को सुरुवातको समयमा एक किसिमको डर र त्रासकै अनुभव बटुले। सुरुवातको केही समय पत्रिकाको प्रकाशन पनि बन्द भयो। त्यो समयमा अनलाइन संस्करणका लागि घरबाट नै काम गरेँ। केन्द्रीय र प्रदेश स्तरको कार्यालयले जोखिममा नगई सर्तकता अपनाएर मात्र रिपोटिङ्ग गर्न निर्देशन गरेको छ।
पारिश्रमिकको हकमा नियमित प्राप्त गरेको छु। त्यसैले घर खर्चमा समस्या पनि आएन। लकडाउन अवधिमो क्वारेन्टिन स्थल, आइशोलेसन अस्पताल लगायतका स्थानको रिपोर्टिङ्ग गरेको अनुभव छ। नेपाल पत्रकार महासंघ पाल्पाको तर्फबाट मैले कुनै पनि स्वास्थ्य सामग्री प्राप्त गरेको छैन।
दिपेश पछाई-संवाददाता–नयाँ पत्रिका दैनिक र मेचीकाली दैनिक
रुपन्देही भैरहवाबाट विभिन्न सञ्चार माध्यममा आबद्ध भएर काम गरिरहेको छु। कोभिडको सुरुवातको अवस्थामा कस्तो खालको रोग हो भन्ने नै प्रश्न उब्जिए। त्यो समयमा स्वास्थ्य सुरक्षाका सामग्री कसरी अपनाउने भन्ने विषयमा पनि जानकारी थिएन। क्रमशः स्वास्थ्य सामग्री कसरी प्रयोग गर्ने भन्ने ज्ञान लिएँ र सोही अनुसार रिपोर्टिङ्गमा हिड्न थालेँ।
लकडाउनको अवधिमा आफुलाई सहज हुने किसिमले मात्र काम गर्न संस्थाले निर्देश गरेको थियो। यद्यपि, भैरहवा क्षेत्र भारतीय सीमा नाकासँग जोडिएकोले नाकामा प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहदा एक किसिमको जोखिम भने थियो।
आफ्नो व्यक्तिगत हकमा पारिश्रमिक र सेवा सुविधा कटौती भएको छैन। रोकिएको पनि छैन। आर्थिक समस्याका विषयमा अन्य कारणले आर्थिक समस्या हुन सक्छ तर, पारिश्रमिककै कारणले हाल सम्म समस्या उत्पन्न भएको छैन। पत्रकार महासंघको सन्दर्भमा आफ्नो क्षमता अनुसार काम गरेको छ, जस्तो लाग्छ।
लीला शाह, सम्पादक, रेडियो हाइवे, दाङ
सुरुवातको समयमा असुरक्षाको महसुस भयो। जतिबेला विश्व ससंकित भइरहेको थियो। दाङको सन्दर्भमा सुरुवातको समयमा छापा माध्यम बन्द भए। अनलाइन माध्यम, रेडियो र टेलिभिजन भने निरन्तर चलिरहे। जोखिम बढेपनि पत्रकारहरु क्रियाशिल हुनुपर्ने स्थिति सिर्जना भयो। काम गर्ने प्रकृति मात्र फरक भयो। दायित्वबोध झनै बढ्यो।
लमही स्थित रेडियो हाइवेको सम्पादक छु। पारिश्रमिकको हकमा नियमित नै पाएकी छु। तर, समग्रताको हकमा धेरै सञ्चारकर्मीले समयमै पारिश्रमिक पाउन सकेको अवस्था छैन। यो तितो यथार्थ हो। हालको परिप्रेक्ष्यमा सञ्चारकर्मी महिलाहरुमा झन् धेरै समस्याहरु उत्पन्न भएका छन्। (जस्तैः घर परिवार, कोरोनामा समाजको एक किसिमको डर, छोराछोरीको अनलाइन कक्षा देखि सबै व्यवस्थापन गरेर फिल्डमा खटिनुपर्ने बाध्यता छ।)
पत्रकार महासंघ दाङले स्वास्थ्य सुरक्षासँगै अप्ठयारोमा परेका पत्रकारका लागि राहत पनि उपलब्ध गराएको छ। सञ्चारमाध्यम र पत्रकारका लागि राज्यले केही कदम चाल्न सकेको छैन। राज्यले मिडियामैत्री निती अबलम्बन गर्न सकिरहको अवस्था अवस्था छैन।
अहिले कोरानोमा महामारीकै बिषयमा भन्ने हो भने फ्रन्टलाइनमा रहेका पत्रकारका लागि पनि पीसीआर परीक्षण पनि हुने सकेन। यो अत्यन्तै दुखको विषय हो। यस समयमा राज्य अझ मिडियाप्रति अझ बढी संवेदनशिल देखिनुपथ्र्यो। यहाँ अर्को पनि समस्या छ। जहाँ सञ्चार माध्यमका अभिभावकीय संस्थाले पनि पारिश्रमिकदेखि मिडिया सञ्चालनतर्फ ठोस कदम चाल्न सकेका छैनन्।
नवीन पौडेल, संवाददाता–कान्तिपुर दैनिक नवलपरासी
कोरोना माहामारीको केही समय त घरबाट निस्कन पनि डर लाग्यो। त्यतिबेला आफुलाई भन्दा पनि वृद्ध बुवा आमा र स–साना छोराछोरीलाई रोग सर्छ कि भन्ने डर थियो। तर, घरबाट मात्र पत्रकारिता नहुने भएपछि जोखिम नै मोलेर फिल्डमा हिडेँ।
पत्रिकामा घरबाटै पनि काम गर्न सहज हुने तर टेलिभिजनका लागि दृश्य नै महत्वपूर्ण हुने भएकोले सुरक्षा सतर्कता अपनाएर रिपोर्टिङ्ग गर्न थाले। केही समय सामाजिक सञ्जाल मार्फत पनि दृश्य लिएर काम गरेँ। यो प्रभावकारी भने हुन सकेन।
लकडाउनको बीचमा आफ्ना केही साथीहरु कामबाट निकालिएको खबर देखे, सुने। आफुले भने त्यस्तो समस्या भोग्नुपरेको छैन। हाल सम्म पारिश्रमिकबाट पनि वञ्चित हुनु परेको अवस्था छैन।
यद्यपि, कार्यालयले जोखिम मोलेर काम नर्गन भनेपनि काममा भने नियमित नै खटिनुपर्ने बाध्यता छ। परिवारमा अन्य आम्दानीको स्रोत पनि भएकोले घर खर्च जुटाउन अप्ठयारो भएन। सीमानाका, कोभिड–१९ आइशोलेसन अस्पताल, क्वारेन्टिनस्थल लगायतका क्षेत्रमा रिपोर्टिङ्ग गरेँ। पत्रकार महासंघ नवलपरासीको हकमा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ र कोरोना बीमा पनि गरिदिएको छ।
पत्रकार महासंघले के गर्यो ?
भरत केसी-उपाध्यक्ष–नेपाल पत्रकार महासंघ, प्रदेश ५
म राष्ट्रिय समाचार समितिको प्रदेश संयोजक पनि हुँ। सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम गरेँ। सोहीअनुसार नै जिल्ला संवाददाताहरुलाई पनि काम गर्न निर्देश गरे। सरकारी निकाय भएकोले त्यति असहज भने भएन। संवाददाहरुलाई पनि कार्यालय वा घरमै बसेर रिपोर्टिङ्ग गर्न अनुरोध गरेँ। तर, कतिपय अवस्थामा भने जोखिम पनि मोलेर संवाददाताले काम गरिरहनुभएको छ।
जस्तैः बाँके, बर्दियाका रिपोर्टरले सडक सञ्जाल पनि नपुगेको ठाउँमा गएर रिपोटिङ्ग गरेको अवस्था छ। त्यस्तै दाङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही लगायत १२ वटै जिल्लाका संवाददाताहरुले पनि सीमा नाका, संक्रमित स्थल, आइशोलेसन अस्पतालमा रिपोर्टिङ्गका लागि खटिरहनुभएको छ।
पत्रकार महासंघ स्रोत साधन सम्पन्न संस्था होइन। यद्यपि, प्रदेश सरकारसँगको समन्वयमा १ लाखको प्रदेशका करिब ८४३ जना पत्रकारहरुको बीमा गरेको छ। यो सकारात्मक पक्ष हो, पत्रकारहरु पनि संक्रमित हुनुभएको छ, बाँके र बर्दियाँका दुई जना पत्रकारहरुलाई दाबी बीमांक रकम पनि भुक्तानी गरिसकेका छौँ।
पारिश्रमिकको हकमा भने म कार्यरत संस्थाले नियमित उपलब्ध गराएको छ। कोरोना महामारीमा पत्रकारले उठान गर्ने विषयवस्तु धेरै हुन सक्छन्, वर्तमान परिस्थितिलाई हेर्ने हो भने संक्रमित व्यक्ति, कोरोना जितेका अनुभवहरु, स्वास्थ्य सुरक्षाका विषयवस्तु (क्वारेन्टिन स्थल, आइशोलेसन अस्पताल) र कोरोना विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका क्षेत्रका बारेमा रिपोर्टिङ्ग गर्न सकिन्छ।
निरा गौतम (निरु) उपाध्यक्ष–नेपाल पत्रकार महासघं रुपन्देही
कोरोना महामारीको सुरुवातको समयमा कसरी काम गर्ने भन्ने विषयमा अन्योल नै भयो। केही समयमा नै संस्थाबाट योजना बन्यो र सोहीअनुसार अगाडि बढ्यौँ। सुरक्षा विधि भनेर ठयाक्कै त छैन।
मास्क, स्यानिटाइजर प्रयोग गर्छु। अत्यवाश्यक काममा मात्र फिल्डमा हिडेँ। अन्य समयमा भने घरबाट नै दैनिक रिपोर्टिङ्ग गरे। यस समयमा विशेषगरी अन्य जिल्लाहरुबाट आउने समाचारहरुलाई पनि सम्पादन गरेर केन्द्रमा पठाउने काम भयो। जसका कारण काममा झनै व्यस्त भए।
लकडाउनको बीचमा जोखिम भएतापनि पेशागत धर्म निभाउने प्रयासमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र, मर्चवार, लुम्बिनी क्षेत्रका क्वारेन्टिन स्थल, बुटवल–भैरहवालगायत समसामयिक विषयवस्तुमाथि रिपोर्टिङ्ग गर्न पुगेँ। पत्रकार महासंघ रुपन्देहीले पत्रकारहरुका लागि तीन चार चरणमा गरेर स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ। त्यो कति पर्याप्त हुन सक्यो या सकेन, त्यो आफ्नो विषय रहला।
तर, हामीले मास्क, स्यानिटाइजर, ग्लब्स, ज्याकेटदेखि समस्यामा परेका पत्रकारहरुका लागि संस्थाले अरु केही राहत पनि वितरण गरेको छ। म राससमा कार्यरत रहेकी छु। सरकारी निकाय भएकोले तलबमा त्यस्तो समस्या भएन। नियमित नै पाएकी छु। महासंघले हाल कोरोना महामारीमा पत्रकारले कस्तो विषयवस्तु उठाउने र कसरी रिपोर्टिङ्ग गर्ने भन्ने विषयमा छलफल चलाउने योजना बनाएको छ।