गुल्मी–सिमसिम पानी र अन्धकार रात। गुल्मीका इश्मा २ का ६० बर्षीय तिलक कुमाल रातचौरबाट फर्किदै थिए। माथिबाट एक्कासी ठूलो पहिरो खस्यो। अघिअघि बच्चा छोपेर हिडेका प्रेमलाई पहिरोले हुत्याइहाल्यो। दुवै जना उम्कन पाएन्। भाग्दा भाग्दै पहिरोको छर्काले कुमाललाई पनि भिरमै धकेल्यो। लेदोसंगै भिरको बीचमा पुगेका उनी घाँस छोपेर अडिए।
‘संयोगले पहिरो थपिएन नत्र बँच्न सकिदैन थियो–उनले भने–अन्धकार र खोलाको आवाजका कारण मैले बोलाएको कसैले सुनेनन्।’ केहीबेरमा स्थानीयले तिलकलाई उद्धार गरे। आफुसँगै पहिरोमा पुरिएका प्रेम र ५ वर्षका सफल कुमाल बिहान मृत भेटिएपछि खुट्टा कापेको उनले बताए।
कुमाललाई यो घटना सपनाको खेल जस्तै लागेको छ। ‘दैवको खेल हिजोभन्दा आज हात खुट्टाले काम गरेका छैनन्–कुमालले भने–बाँच्न लेखेको रहेछ घाँसले ज्यान जोगाएँ।’ सोमबार राति पहिरोमा पुरिएर ३८ वर्षका प्रेमबहादुर कुमाल र ५ वर्षका सफल कुमालको ज्यान गएको थियो।
इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीका अनुसार रातिदेखि दुवै जना पहिरोमा बेपत्ता थिए। पहिरोले बगाएर खोला नजिक कुलोमा पुरेको अवस्थामा शव फेला पारिएको जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरीले जानकारी दिए।
झण्डै तीन घण्टा लगाएर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीयले पुरिएकाहरुको शव निकालेका थिए। शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास लगिएको उद्धारमा खटिएका सशस्त्र प्रहरी निरिक्षक कमलेशकुमार महत्तोले जानकारी दिए।