परासी-नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ। नदीमा पानीको सतह बढेसँगै ब्यारेजका सबै ढोका खोलिएको गण्डक भूआर्जन तथा जनसम्पर्क कार्यालयका जनसम्पर्क अधिकारी तारासिंह थापाले जानकारी दिए।
ब्यारेजमा अहिले ३ लाख ३२ हजार क्यूसेक प्रति सेकेण्ड पानीको बहाव रहेको र निरन्तर बढ्ने क्रममा रहेको उनले बताए। यो व्यारेजले भारतको बिहारस्थित भैंसालोटन र पूर्वी नवलपरासीलाई जोडेको छ। नदीमा ४ लाख क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेपछि उच्च खतरा मानिन्छ।
नारायणी नदीकै देवघाट क्षेत्रमा पानीको सतह खतरामा पुगेको छ। जसका कारण ब्यारेजसम्म आइपुग्दा जोखिम हुनसक्ने भएकाले ढोका खोलिएको हो।
गण्डकमा पानीको सतह बढ्दै गएपछि तटिय क्षेत्रका स्थानीयलाई सजगता अपनाउन नवलपरासी प्रशासनले आग्रह गरेको छ। नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले संभावित क्षतिलाई जोगाउन जोखिम क्षेत्रमा पूर्वतयारीका साथ सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बताए।
ब्यारेजका कारण पश्चिम नवलपरासीका करिब ४० गाउँ डुबानको जोखिममा पर्दै आएका छन्।