बुटवल-प्रदेश ५ का विभिन्न जिल्लामा भएको घटनाहरुमा १२ जनाको मृत्यु भएको छ। प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका अनुसार रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, रोल्पा र पाल्पामा भएका घटनाहरुमा १२ जनाको मृत्यु भएको हो।
रुपन्देहीको देवदह १२ कनपरा स्थित रोहिणी खोला किनारमा अन्दाजी ५५ वर्षकी महिलाको शव फेला परेको छ। शव सडिसकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनको पहिचान खुलेको छैन। यस्तै रुपन्देहीकै तिलोत्तमा ११ भू.पु.सैनिक बस्ने बर्ष-१६ की बालिकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
रुपन्देहीकै बुटवल ६ शान्तिनगरस्थित तिनाउ खोला किनारमा ५-६ महिनाको शिशु प्लाष्टिकमा हालेर फालेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
रुपन्देहीकै शुद्धोधन ४ फर्साटिकर बस्ने राधा आचार्यको निर्माणधीन घरमा शुद्धोधन ३ दोगाना बस्ने ४० वर्षका तारा सिंह थारुले प्लास्टरको काम गर्ने क्रममा बिजुलीको नाङगो तारलाई छुदा करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको छ।
यस्तै बाँके नेपालगञ्ज १ डेन्टल हस्पिटल नजिकै बस्ने गजेन्द्र भण्डारीको घरको रेलिङ्ग वैल्डिङ गर्ने क्रममा राप्तीसोनारी ५ का १९ वर्षीय धन बहादुर थारुको मृत्यु भएको छ।
कपिलवस्तुको कृष्णनगर २ बसपार्क स्थित लक्ष्मी हार्डवयर नजिकै ६०/६५ वर्षको पुरुष मृत अवस्थामा फेला परेका छन्।
दाङको लमही ६ छुट्की मरहवा की ६५ वर्षीया एक महिलाले आत्महत्या गरेकी छिन्। यस्तै बर्दिया बढैयाताल ५ जगतियाका पञ्चराम थारुको १३ वर्षकी छोरी आफ्नै घरको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।
प्यूठान ९ जैसीधगेका राजु परियारको छोरा १२ वर्षका बालक घरमै आत्महत्या गरेका छन्।
पाल्पा तिनाउ १ झिङ्गामारा स्थित जंगलमा रुपन्देहीको सैनामैना ४ का ५७ वर्षीय कृष्ण बहादुर थापा मृत अवस्थामा फेला परेका छन्। रोल्पा त्रिबेणी ३ छापकी १७ वर्षकी बालिकाले आफ्नै घरमा आत्महत्या गरेकी छिन्।
रोल्पामै रोल्पा नगरपालिका ३ गोठमारे बस्ने ५८ वर्षका लालसिंह खत्रीको बिषादी सेवनबाट मृत्यु भएको छ।