बुटवल–सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको यात्रा गर्न हिजोआज निकै कष्टकर बनेको छ। कतिखेर गन्तव्यमा पुगिने हो टुंगो छैन। यात्रा गर्दा जुनसुकै बेला लामो जाममा फस्न सकिन्छ।
कतै सडक अवरोध नभएको समयमा पनि सरासर जान सकिने अवस्था छैन। बुटवल तम्घास रुटमा आफ्नै गाडी चलाउने विष्णु घिमिरे सोमबार बिहान ९ बजे बुटवल बसपार्कबाट गाडी अगाडि बढाए।
गोलपार्क पुगेर गाडी जाममा बस्यो। दिउसो २ बजेसम्म लाइनमा बसेका कुनै पनि गाडी अघि बढेनन्।
भुतखोलामा एउटा लोड ट्रक फसेको रहेछ। त्यसलाई निकाल्न झण्डै ५ घण्टा लागेको थियो। ट्रकलाई निकालेपछि बल्ल जाम खुल्यो साढे २ बजे बल्ल गाडीहरु अगाडि बढे। तर सरासर गाडी चलाउन सकिने अवस्था थिएन।
‘बाटो सफा भएको अवस्थामा २० मिनेटमा झुम्सा पार भइन्थ्यो, तर यसपटक एक घण्टा भन्दा बढी लाग्यो’–चालक घिमिरेले भने–‘दिउसो ३ बजे तम्घास पुग्नुपर्नेमा राती ८ बजे बल्ल पुगियो।’
शुक्रबार आएको भीषण वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएर सडक बिग्रदा यात्रा निकै कष्टकर बनेको छ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका गुल्मी रुट सदस्य विजय तिवारीले ठाउँ ठाउँमा पहिरो जाँदा यात्रा गर्न निकै कष्ट भएको बताए।
‘चार ठाउँमा ठूला पहिरो गएको ठाउँमा अफ्ठ्यारो छ, जहाँसुकै हिलो र खाल्डाखुल्डी छ, हिड्न त्यसै गाह्रो छ’–उनले भने–‘तानसेन पुग्न सवा घण्टाको बाटो हो, अहिले साढे २ घण्टा भन्दा बढी लाग्छ।’
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्बरबहादुर बिकले बाटो भत्केर सडक साँघुरो हुँदा प्रहरी खटाएर आलोपालो गरेर गाडी पठाउनुपरेको बताए।
‘३ ठाउँमा जति बाटो साँघुरो भएर आलोपालो गरेर गाडी पठाइरहेका छौं’–उनले भने–‘अरु ठाउँमा पनि कालोपत्रै भत्केर हिलो र खाल्डा खुल्टी भएकाले गाडीको गति सुस्त हुने गरेको छ।’ एसपी बिकले वर्षा भएमा जुनसुकै बेला पनि अवरुद्ध हुन सक्ने बताए।