सैनामैना–रुपन्देहीको सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। ३० औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ‘महामारीमा बुढ्यौली र उमेरको कारण ज्येष्ठ नागरिकलाई गरिने हाम्रो सम्बोधनमा परिवर्तन ल्याउछ’ भन्ने नाराका साथ नगरमा रहेका ११ वटै वडाका ११ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा करिब ९० वर्षदेखि १ सय उमेर बढीका ६ जना महिला र ५ जना पुरुष छन् । नगरपालिकाले नगरमा रहेका वडा तथा घर घरमै पुगेर उनीहरुलाई दोसल्ला ओढाई सम्मान गरेको हो ।
सम्मान गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सबै भन्दा ज्येष्ठ प्रत्येक वडाका एक एक जनालाई वडा कार्यालयमा नै नगरपालिका स्वंयम उपस्थिति भएर सम्मान गरिएको बताए । उनले भने– ‘यस वर्ष एउटा प्रतिनिधिमूलक ढंगले वडाको सबभन्दा जेष्ठ नागरिकलार्ई सम्मान गरेका छौ।’
नगर प्रमुख कार्कीले अहिले समाजमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गइरहेकोले गतवर्ष जस्तो ज्येष्ठ नागरिकहरुलाई एकै ठाउँमा भेला गराएर सम्मान गर्न सम्भव नभएको हुँदा वडा तथा घर घरमै पुगेर सम्मान गरिएको उल्लेख गरे।
जीवनको अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान सीप, अनुभव र उर्जालाई लगानी गरेका जेष्ठ नागरिकहरु राष्ट्रका धरोहरका रुपमा रहेको मेयर कार्कीले बताए।
नगरमा रहेका ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिककोे निशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था नगरपालिकाले मिलाएको सैनामैना नगर उपप्रमुख बीना रानाको भनाइ छ।
बिहीबारबाट नै सम्पुर्ण नगरवासीहरुको स्वास्थ्य बीमा गर्नका लागि प्रत्येक वडामा एक एक जनाका दरले बीमा सहजकर्ता समेत खटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।
सम्मान ग्रहण गर्दै वडा नं.१० दुर्गामन्दिर टोलकी १ सय १ वर्षीय मोती बुढा, वडा नं ११ बनकट्टाका ९६ वर्षीय शिवलाल आचार्य , वडा नं ५ कलौनीकी ९७ वर्षीय कुन्दा देवी चालिसे, वडा ४ रामनगरका ९४ वर्षीय जयराम पौडेल लगायतले वडा तथा घर घरमै आएर नगरले सम्मान गरकोमा खुसी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका थिए।
नगर स्वास्थ्य संयोजक हेमराज पन्थीका अनुसार हरेक परिवारका ५ जना सम्म सदस्यहरुले वार्षिक रुपमा ३ हजार ५ सय रुपैँयामा पारिवारिक स्वास्थ्य बीमा पनि गर्न सक्नेछन्। परिवारमा ५ जना भन्दा बढी भए प्रति थप सदस्यको रु. ७ सयका दरले थप रकम तिनुपर्नेछ।
पुर्ण रुपमा अपाङ्गता (रातो कार्ड) भएका व्यक्तिहरुको निशुल्क र महिला स्वास्थ्य स्ंवयम सेवीकाहरुको हकमा पारिवारिक बीमा गर्दा ५० प्रतिशत नगरपालिकाको अनुदानमा स्वास्थ्य बीमा गरिने महिला तथा बालबालिका शाखाका प्रमुख तुल्सा ज्ञवालीले जानकारी दिए।
राष्ट्रिय स्वास्थ्य बीमा नीति २०७१ ले नेपाली नागरिकको सम्रग स्वास्थ्य स्थितिमा सुधार गर्ने दिर्घकालिन लक्ष्य अनुसार रुपन्देही जिल्लाको सैनामैनामा पनि बिहीबारबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको नगरपालिकाले जनाएको छ। स्वास्थ्य बीमाका लागि नगरमा ११ जना बीमा सहजकर्ता रहेका छन्।
नगरपालिका भित्रका पारिवारिक स्वास्थ्य वीमा गर्न नसक्ने गरिब तथा न्युन आय भएका परिवारको लगत समेत संकलन गर्न बीमा सहजकर्ताहरुलाई नगरपालिकाले निर्देशन गरेको छ।