दाङ-प्रदेशसभाबाट प्रदेशको स्थायी राजधानीको टुंगो लागेपछि दाङको भालुबाङमा उक्त निर्णयको भव्य स्वागत गरिएको छ। भालुबाङमा दीप प्रज्वलन गरेर खुशीयाली मनाएको स्थानीय अगुवा गञ्जबहादुर बिष्टले बताए।
‘प्रदेशसभाबाट ऐतिहासिक र न्यायिक निर्णय भएको छ। यसको हामी खुलेर स्वागत गर्दछौँ’, उनले भने, ‘प्रदेशसभाका माननीयसहित मुख्यमन्त्रीलाई सलामले अभिनन्दन गर्न चाहन्छौँ।’
स्थानीय सरकार, व्यवसायी, सर्वसाधारण, राजनीतिक दल, संघ संस्थाको तर्फबाट स्वागतको तयारी गरिएको हो। नेपालको राष्ट्रिय झण्डा फहराएर, दीप प्रज्वलन गरेर राजधानीलाई स्वागत गरिएको छ।
प्रतिनिधि सभा सदस्य गंगा थारु, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेल लगायतले राधानी घोषणाले प्रदेशका नागरिकको न्याय गरेको बताएका छन् ।
प्रदेश सभामा राजधानी र प्रदेशको नाम बारे प्रस्ताव दर्ता गरेपछी राजधानीको बिषयले भालुबाङको चर्चा चुलियो । सबैले भालुबाङ्गलाई महत्वका साथ हेरेका थिए । त्यो हेराईले अहिले पूर्णता पाएको छ । भालुबाङ्ग दाङको मात्रै बजार होइन, यो रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, गुल्मी लगायतको बजार हो । त्यही भएर भालुबाङ्ग सबैको नजरमा पर्यो ।
दाङलाई केन्द्रिय राजधानी बनाउने नेपाल मजदुर किसान पार्टीले २०६४ र २०७० सालको निर्वाचनमा आफ्नो चुनावी घोषणापत्रमा समेत उल्लेख थियो । पटक–पटक राजधानीको चर्चामा रहेको दाङ देउखुरी उपत्यका प्रदेश नं. ५ को राजधानी तोकिएपछी बर्षाैं अघी देखिएको सपना पुरा भएको हो ।
दाङमा प्रदेश स्तरीय उच्च अदालत र प्रहरी कार्यालय यस अघीनै स्थापना भैसकेका थिए । तर, राजधानीको सपना भने अधुरै थियो । प्रदेश सभाको दुई तिहाइ मतले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्षेत्रलाई तोकेर प्रदेश राजधानी बनाउने निर्णय गरेको छ । यो निर्णयले उत्साह छाएको छ ।
‘प्रदेश ५ को राजधानी बनाउने प्रदेश सभाबाट भएको निर्णयको स्वागत गर्दछौं । अव यो निर्णय चाँडो कार्यान्वयन होस’भालुबाङका अगुवा गुञ्जबहादुर बिष्टले भने–‘हाम्रो क्षेत्रमा संसद बैठक बसाल्न, मन्त्रालय राख्न प्रसस्त संरचना छन् । राजधानी सार्न ढिलो गर्न हुन्न ।’ प्रदेशको मध्यविन्दुमा राजधानी राख्ने निर्णय गरेर सबैको भावनाको उचित कदर गरेको यहाँका सर्वसाधारणले प्रतिकृया दिएका छन् ।
‘सबै जिल्लाको समान दुरीमा राजधानी बसाल्ने निर्णय भएको छ । यो धेरै सुखद निर्णय हो’स्थानीय व्यवसायी टोपबहादुर कार्कीले भने–‘राजधानी राख्ने ऐतिहासिक निर्णयको घर घरमा दिप बालेर स्वागत गर्छौं ।’
प्रदेश ५ सरकारले भालुबाङलाई आधार मानेर एउटा नयाँ शहरको परिकल्पना गरेको छ । जुन शहर नमुना शहर बन्ने छ । राप्ती नदीको किनारलाई सदुपयोग गरेर एक सय बर्ष पछी पनि महत्व रहने परिकल्पना गरिएको छ ।
भालुबाङ सहित देउखुीलाई एउटा नमुना शहरको रुपमा बनाइने प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रतिकृया दिए । ‘भालुबाङलाई वस्तीलाई व्यवस्थीत गर्छौं । सार्वजनिक स्थलहरुको पहिचान गर्छौं’प्रदेश सभा सदस्य शर्माले भने–‘सबैभन्दा सुन्दर बनाउन सकिन्छ । धेरैलाई मन पर्ने बनाउन सकिन्छ । भालुबाङ सहित दाङ देउखुरी सहित समग्र प्रदेशको सम्भावना र विकासलाई अव कसैले रोक्न सक्दैन ।’
‘संरचनाको कमी छैन, बैठक बसाल्न सक्छौं।'
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले तत्काल प्रदेश सभाको बैठक राख्नको लागी संरचनाको अभाव नहुने बताएका छन् । उनले राजधानीको लागी चाहिने संरचना राप्ती प्राविधिक शिक्षालयमा रहेकाले तत्काल बैठक बसाल्न, मन्त्रालयको काम कारबाही अघी बढाउन सकिने बताए ।‘हामीलाई संरचनाको अभाव छैन् । जग्गा पनि प्रसस्त’उनले भने–‘१६ विगाहको प्लटमा शिक्षालयका भवनहरु बनेका छन् । शिक्षालयलाई विकल्प दिएर हामीले मन्त्रालय र सदन राख्न सक्छौं ।’
सबै जिल्लाको मध्यबिन्दु
दाङ क्षेत्र सबै जिल्लाको मध्यबिन्दुमा पर्दछ । प्रदेशको सबैभन्दा पश्चिममा रहेको जिल्ला बर्दियासँगको दाङको दूरी १ सय ९० किलोमिटरको दूरी छ । जबकी बुटवल राजधानी कायम रहँदा पश्चिममा रहेको यो जिल्लालाई प्रदेश राजधानी निकै अपायक थियो ।
बर्दियासँगै उसको पूर्वी सीमा साँध रहेको बाँके प्रदेशको अहिले कायम रहेको राजधानीको थलोदेखि लामो समयदेखि असन्तुष्ट रहँदै आएका थिए । यी दुई जिल्लाले प्रदेशको राजधानी अपायक थलोमा रहेको भन्दै फरक प्रदेश कर्णाली प्रदेशमा गाभिने सम्मको निर्णय गरिसकेका थिए ।
यसैगरी प्रदेशको पूर्वी सीमा पश्चिम नवलपरासीबाट दाङको दूरी पनि बर्दियाकै बराबर १ सय ९० किलोमिटर छ । यसैगरी उत्तरी क्षेत्रका जिल्लाको दूरी हेर्ने हो भने दाङ नै प्रदेशको केन्द्र भएको प्रष्टै हुन्छ । प्रदेशको पश्चिम पहाडी जिल्ला पूर्वी रुकुमदेखि दाङको दूरी २ सय १० किलोमिटर छ । प्रदेशको पूर्वी पहाडी जिल्ला पाल्पादेखि दाङ सम्मको दूरी पनि रुकुम जत्तिकै समान २ सय १० किलोमिटर रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए ।
यसैगरि गुल्मीको उत्तरी भूभागदेखि दाङसम्मको दूरी १ सय ५० किलोमिटर छ । प्रदेश सरकारले स्थायी राजधानीका चुनेको दाङ देउखुरी क्षेत्र राजधानीका लागि हरेक दृष्टिकोणबाट उपयुक्त मानिएको छ । प्रदेशको नाम तथा राजधानीका लागि सिफारिस गर्नका लागि बनेको विशेष समितिले निर्माण गरेको विज्ञ समूहले समेत यो क्षेत्रलाई स्थायी राजधानीका लागि उत्तम मानेको थियो ।
प्रदेश सरकारले सिफारिस गरेको देउखुरी क्षेत्रका स्थानीय सरकारका जनप्रतिनिधिहरुले प्रदेशको स्थायी राजधानीका लागि आफ्नो क्षेत्र उपयुक्त भएको बताएका छन् ।
‘उर्वर भूमि,वातावरणीय अनुकूलता अनि सुरक्षा दृष्टिकोणले हाम्रो गाउँपालिका क्षेत्र निकै उपयुक्त छ,’ राजधानीको केन्द्रका रुपमा प्रस्ताव गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले भने । अहिले गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि १ हजार ५ सय बिघा जमिन प्रदेश सरकारलाई उपलब्ध गराउन सक्ने समेत बताउदै आएका छन् ।