बुटवल–बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा. खिमानन्द न्यौपानेले विहान ८ बजेतिर फोनमा एउटा खबर सुनेर झसङ्ग भए।
सहायक क्याम्पस प्रमुख डा. शिव पौडेलको मृत्यु भएको खबर कसैले फोनमा भनेको थियो। स्कुटर सिक्ने क्रममा आफ्नै घरको भित्तामा ठोक्किएर पौडेलको मृत्यु भएको थियो। खबर थाहा पाएपछि उनी हतारिएर क्रिमसन अस्पताल पुगे। क्याम्पसका अरु शिक्षक र शुभेच्छुकहरु पनि जम्मा भएका थिए।
क्याम्पस प्रमुख न्यौपाने र पौडेलले बुटवल बहुमुखी क्याम्पसमा सँगसँगै जसो जागिर सुरु गरेका हुन्। ‘उहाँ र म साथी–साथी जस्तै हौं, उमेरको र यहाँ जागिर खान हिसाबले पनि’–क्याम्पस प्रमुख न्यौपानेले भने–‘२०५२ सालमा मैले क्याम्पसमा आंशिकमा पढाउन सुरु गरें, उहाँले कताकता पार्ट टाइम पढाउनुहुन्थ्यो।’
२०५४ सालमा विश्वविद्यालय सेवा आयोगबाट उपप्राध्यापकमा स्थायी भएर पौडेलले बहुमुखी क्याम्पसमा निरन्तरता दिए।
पौडेल बोलीचालीमा स्पष्ट मान्छे भएको क्याम्पस प्रमुख न्यौपानेले बताए। ‘बोलीचालीमा अलि खरो खालको मान्छे स्पष्ट बोल्ने खालको मान्छे हो उहाँ, मनमा नराख्ने फ्याट्ट भन्दिने’–उनले भने–‘किताब पनि थुप्रै लेख्नुभएको छ । लेख लेख्ने, पढ्नमा ध्यान दिने मान्छे हो।’
पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयको उखान टुक्कामा पिएचडी गरेका छन्।
लुम्बिनी र आसपासमा चलेका धेरै उखान पौडेलले आफ्नो खोजमा समेटेको लेखक तथा पत्रकार ऋषि आजादले बताए।
‘समाजमा चलेका उखान टुक्काहरुलाई उहाँले आफ्नो विद्यावारिधिको लागि खोज र अनुसन्धानको विषय बनाउनुभयो’–उनले भने–‘उहाँ धाराप्रवाह बोल्न सक्ने कला कौशल भएको व्यक्ति हो । अन्तरमुखी नभई बहिरमुखी स्वाभाव थियो उहाँको।’
डा. पौडेलका नेपाली उखानको विषयवस्तु अध्ययन २०६०, नेपाली बाल विश्वकोष २०६०, नेपाली गाउँखाने कथा कोष २०६१, नेपाली टुक्काहरुको सर्भेक्षण र विश्लेषण २०६१, नेपाली उखानका रचना सन्दर्भ २०६८, नेपाली टुक्का कोष २०६८, लोक कथा सन्दर्भमा नेपाली उखान २०६८, अमर कथा संग्रह उनका प्रमुख कृति हुन ।
यी बाहेक अन्य केही कितावहरु र थुपै लेखहरु प्रकाशित छन् । पौडेलको लेख तथा कथाहरुमा आदर्शउन्मुख यथार्थवाद, मनोवैज्ञानिक यथार्थवाद पाइने लेखक आजादले बताए।
बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक तथा व्यवस्थापन संकाय हेर्ने साहयक क्याम्पस प्रमुख लिलाबल्लभ ढकालले डा. पौडेल प्रखर बौद्धिक व्यक्ति भएको बताए।
‘उहाँ एकदम प्रखर, निपूर्ण र एकेडेमीक व्यक्तित्व भएको व्यक्ति हो,–उनले भने नेपालको राजनीतिक आन्दोलनमा पनि परिवर्तन, सामाजिक रुपान्तरण र देशको आमुल परिवर्तनको पक्षमा आफ्नो अभिमत जाहेर गर्ने मान्छे हो।’
२५ वर्षदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनी बीचमा ६ वर्ष भारतको वनारस काँशी हिन्दु विश्वविद्यालयमा अतिथि प्राध्यापकको रुपमा काम गरे।
हिन्दु विश्वविद्यालयमा नेपालीको लागि एउटा कोटा छुट्याउने गरेको छ। त्यो कोटामा यहाँका विश्वविद्यालयले काजमा पठाउने गर्दछन्। त्यस क्रममा ६ वर्ष पौडेलले बनारसमा जिम्मेवारी पाएका थिए।
पौडेलले यस अघि पनि बहुमुखी क्याम्पसमा पटकपटक सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पाएका थिए।
पछिल्लोपटक असोज १ गतेबाट उनले शिक्षाशास्त्र संकायमा बिहानी सिफ्ट हेर्ने गरी सहायक क्याम्पस प्रमुख सम्हालेका थिए।
‘क्याम्पसको आन्तरिक कामले पर्सी मंगलबार काठमाडौ जाने तयारी गर्नुभएको थियो, आज एक्कासी यस्तो घटना घट्यो’–क्याम्पस प्रमुख न्यौपानेले भने।
पौडेलको निधनप्रति बहुमुखी क्याम्पसमा आज शोक बिदा दिइएको छ।