काठमाडौं-यसपालिको तिहारमा मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ ।
भाइटीकाको दिन भने पश्चिमका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भाइटीकाको दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । तर ठूलो पानी पर्ने सम्भावना भने छैन । अरु ठाउँमा पनि सामान्य बादल लाग्दै घाम लाग्ने सम्भावना छ ।
अहिले प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी भेगमा आंशिक बद्ली रहेर बाँकी ठाउँमा सामान्यतः मौसम सफा छ । आज दिउँसो पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति देशका सबैजसो पहाडी भेगमा सामान्य खालको बादल लाग्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताए । भोलि र पर्सिको मौसम पनि सामान्यतया यस्तै नै रहनेछ । यसैबीच काठमाण्डौ उपत्यकाको आज बिहानको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ ।