सैनामैना–‘मलाई खासै बोल्न त आउँदैन, सहयोग गर्ने मेरा गाउँबासी सबैलाई शुभकामना छ ।’ आशु पुछ्दै बेलमाया बस्नेतले बोल्न सुरु गरिन् ‘माया नमार्नु होला, मैले छोराहरु तपाईहरु र तपाईको गाउँमा सुम्पिएकी छु ।’
सैनामैना नगरपालिका वडा नं.३ गंगानगरकी बेलमाया बस्नेतको परिवारमा चौध जना छन्।
श्रीमान, चार–चार जना छोराबुहारी र चार जना नाति नातिनाको परिवार छ। छोरा–बुहारीहरु आठै जनाले कानले सुन्न र बोल्न सक्दैनन् । सुन्न नसक्ने भएकै कारण बेलमायालाई घर खर्च चलाउन समेत कठीन हुन्छ ।
पछिल्लो समयमा केही आर्थिक सहयोग जुट्न थालेपछि बेलमायाले कृषि कार्य सुरु गरेकी छन् ।
अहिले ६ वटा भैँसी पालेर गुजारा चलाएकी छिन््। भैँसी किन्न र गोठ बनाउका लागि लिएको ऋण भने तिर्न सकेकी छैनन् । हेफर लगायत अन्य संस्थाबाट ऋण लिएकी हुन्। कृषि कार्यको लागि उनको परिवारलाई पुख्र्यौली थलो बाग्लुङ्गको हुग्दिशिरबाट सहयोग जुटेको छ।
आफ्नो पुख्र्यौली थलो हुग्दीशिरबाट बैदेशिक रोजगारीमा रहेका युवाहरुले करिब ६ लाख ४६ हजार रकम संकलन गरी बेलमायाको परिवारलाई पठाएका छन्। आफ्नै घरको आँगनमा परिवार सहित सोही रकमको चेक बुझ्दै बेलमायाले पछ्यौरीले आशु पुछिन्।
‘मैले छोराहरु तपाईहरुको हातमा सुम्पिएकी छु, सहयोग गर्नुभयो, फेरी पनि आउनुहोला।’ उनले थपिन् ‘फेरी पनि बुटामा पानी राख्न आइरहनुहोला, लगाएको विरुवामा फल फल्यो कि फलेन भनेर मेरो दैलो कुचिदिनुहोला, मेरा छोराहरुलाई हेर्दिनुहोला भन्ने आशा छ ।’
१४ जना मध्ये बस्नेत परिवारमा ८ जनाले कानले सुन्दैनन्। बेलमायाले छोरा बुहारीहरु सांकेतिक भाषाको माध्यमबाट बोल्ने गरेको बताइन्। श्रीमान कर्णबहादुर बस्नेत पनि स्पष्ट बोल्न सक्दैनन्। बस्नेत अलिअलि बोल्न सक्ने भएपनि २१ वर्ष अघि प्यारालाईसिस भएपछि सामान्य हिडडुल मात्र गर्छन्। चार छोरा जन्मेदेखी नै बोल्न नसक्ने हुन्।
बेलमाया भन्छिन् ‘दुई छोराहरुले कक्षा १२ सम्म अध्ययन गरेका छन्, तर सांकेतिक भाषाबाट बोल्नुपर्दा काम पाउन मुस्किल छ, पाइहाले पनि सांकेतिक भाषा अरुले नबुझदा समस्या छ ।’
बेलमायाका तिन छोरा अहिले घरै छन् भने एक छोरा काठमाण्डौँमा छन्। बेलमायाँको परिवार २०५८ साल तिर बाग्लुङ्गको हुग्दिशिरबाट तराई झरेका हुन्। आर्थिक अवस्था कमजोर भएको बस्नेतको परिवारमा श्रीमान बिरामी त छँदैछन् । त्यसैमाथि बेलमायाले पनि दैनिक रुपमा औषधी खान्छिन्।
आर्थिक श्रोत जुटाउन भैँसी पालन सुरु गरेको बस्नेत परिवारले अहिले घर खर्च यसैबाट चलाउँछन् ।
६ वटा भैँसी मध्ये चार वटा भैँसी दुहुना छन्। दैनिक दश बाह्र लिटर दुध बेच्छन् । बहिरा भएकै कारण आर्थिक समस्या भोग्नुपरेको यो परिवारलाई विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण लकडाउनमा बिहान बेलुकाको छाक टार्न समेत मुस्किल परेको थियो। भैँसी र बाख्रा पालन थालेपछि भने उनलाई केही भएपनि परिवार चलाउन सहज हुन थालेको छ।
युवाहरुले पठाएको रकमको चेक सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले हस्तान्तरण गरेका हुन् । बेलमायाले आशु पुछ्दै भनेका शब्दहरुले प्रमुख कार्की समेत भावुक भए । नगरप्रमुख कार्की भन्छन् – ‘हामी सँगसँगै थियौँ, तर एउटा परिवार विशिष्ठ खालको अप्ठयारो परिस्थितिमा छ, भन्ने सुष्म हिसाबले नजर पुगेको थिएन, हामीले तुरुन्तै यो परिवारलाई एक लाख बराबरको पुंजीगत अर्थात् वस्तुगत सहयोग गर्दैछौँ।’
बेलमायाको परिवारलाई वडाले सँगै विभिन्न संघ संस्थाले पनि सहयोग गरेका छन्। वडाध्यक्ष रत्न बहादुर पौडेलका अनुसार वडाबाट अपाङ्गता भएका ब्यक्तिले पाउने सुविधा पनि उनीहरुले पाउँदै आएका छन्।
रोजगारीको शिलशिलामा जापान, दुबही र कोरिया गएका बागलुङ्ग हुग्दिशिरका १९ जना युवाहरु मिलेर ६ लाख बढी रकम संकलन गरेका हुन् । आर्थिक समस्यामा परेको आफ्नो गाउँ ठाउको परिवारलाई केही भएपनि राहत होस् भन्ने हेतुले सहयोग अभियान सञ्चालन गरिएको अभियानकर्ता होमनाथ सुबेदीले बताए।