गुल्मी –ध्वजा पतकाले रंगीचंगी । रंगरोगनले चिटिक्क घर । त्यहि घरको डिलमा उभिएका धनबहादुर विक । पहिरो पीडित परिवारलाई घर हस्तान्तरण भएकाले नजिकै ठुलो कार्यक्रमको तामझाम थियो ।
टोलाइरहेका धन बहादुरलाई पत्रकारले सोधे । यो कसको घर हो ? उनले थोरै मुस्कुराउँदै भने, मेरो हो हजुर ।
पत्रकारले फेरि सोधे राम्रै घर पाउनु भएछ, खुसी हुनुहुन्छ ?
बिकले जवाफ फर्काए, घर पाएर के गर्ने परिवार सवै दैवले चुड्यो । ०७६ साउन ६ गते घर माथीबाट आएको पहिरोले बिकका श्रीमती र दुई छोराछोरीसहित घरगोठ बगायो । त्यो बेला घरमा नभएकाले विक मात्रै बचेका थिए ।
पहिरोले भिरकुनाका १०/१२ घर बगायो । सवैभन्दा ठुलो क्षति धन बहादुरको परिवारमा प¥यो । एकै टोलका करिव एक दर्जन व्यक्तिले सोहि पहिरोमा ज्यान गुमाए । उनले डेढ बर्षसम्म छिमेक र आफन्तकोमा गरेर ज्यान पाले ।
दुखले दुई बर्खा र एक हिउँद चिसो थेगेका धन बहादुरले अहिले भने बल्ल घर पाएका छन् । तर पनि उनले मन बुझाउन सकेका छैनन् ।
‘घर बनाउन पनि मिल्ने रहेछ, परिवार कसरी फर्काउँ,’उनले भने,‘मन बुझाउन राज्यले रोजगारी दिए जिविकोपार्जनमा सहज हुने थियो ।’
सोही स्थानकी माया बिकले पनि घर पाएकी छन् । उनले घर मात्रै पाएकी हुन् । तर, अपुरै घर पाएकाले समस्यामा छन् ।
बिक दुई बर्षसम्म पहिरोले चर्किएकै घरमा बसिन् । डेढ बर्षमा घरले छानो र शौचालयले साइफन पाए । तर, फिनिसिङ नभएकाले बस्न मिल्दैन ।
उनीसँग पाखुरा नबजारे हातमुख जोड्ने उपाय छैन । गाउँपालिकाले दिएको अहिलेकै घरमा बस्न सक्ने कुरै भएन । अरुको जस्तै चिटिक्क घर कसरी बनाउने भन्ने पिरलोले मायालाई सताउन थालेको छ ।
उनले पहिरोको उच्च जोखिममा परेका परिवार अन्तरगत साढे ३ लाख प्रदेशबाट पाएकी हुन् । जुन रकमबाट निर्माण कम्पनीले घर छाएर र शौचालयमा साइफन मात्रै राखेर छोडिदिए ।
‘प्लास्टरको लागि एक लाख २० हजारमा ठेक्का दिएकी छु, काम गरेर खाने मान्छेलाई धेरै आपत प¥यो,’उनले भनिन,‘क्रृण कसरी तिर्ने ।’
पहिरोले सत्यवति गाउँपालिका ३ र ४ मा थुप्रै मानविय तथा भौतिक क्षति पुराएको थियो । अहिले भौतिक क्षतिको पुर्निमाणको काम भइरहेको छ ।
सत्यवति गाउँपालिका ४ मा गाउँपालिकाले जग्गाको व्यावस्थापन गरेर अहिले १५ घर पहिरो पीडित परिवारलाई हस्तान्तरण गरिएको सत्यवति गाउँपालिका ४ का वडाध्यक्ष दान बहादुर रानाले जानकारी दिए ।
वडा नं ३ ठुलोलुम्पेकका पहिरो पीडितहरुलाई घर निर्माणको काम भइरहेको छ । सत्यवति गाउँपालिकाले पुर्ण क्षति भएका परिवारलाई ५ लाख र प्रदेश सरकारले उच्च जोखिममा भएका प्रति परिवार साढे ३ लाख रुपैयाँ घर निर्माण गरिरहेको रानाले बताए ।
जग्गा प्राप्ति र कार्यविधी निर्माणमा भएको बिलम्ब लगायतका कारण सत्यवती गाउँपालिका ३ र ४ का पहिरो पीडित परिवारले भनेकै समयमा घर पाएनन् ।
उनले भने, ‘बल्लतल्ल सुरु भएको पुनर्निमाणको काम पनि लकडाउनका कारण सोचे अनुसार अगाडि बढेन । जसका घरबार गुमेका कैयौँ पहिरो पीडित परिवारको घर निर्माणको काममा सुरसार नै छैन ।
स्थानीय तथा प्रदेश सरकारले पुनर्निमाणको कामको अनुगमन समयमै गर्न नसकेका कारण गुणस्तरीय काम नभएको विस्थापित परिवारको गुनासो छ ।
सत्यवति गाउँपालिका प्रमुख पारिश्वर ढकालले आफुहरुले बिस्थापित परिवारकै पक्षमा रातदिन काम गरिरहेको भए पनि केही कानुनी र व्यावस्थापकीय तथा कोरोनाको कारण समयमै काम नभएको बताए ।
उनले विपद्को बेला देश बिदेशबाट संकलन भएको रकमले पुर्ण क्षति भएका घर परिवार र प्रदेशबाट उच्च जोखिममा भएका परिवारको घर निर्माणको काम भएको जानकारी दिए ।
उनले साढे तीन लाखमा घर बनाउने बिषय चुनौतिपूर्ण भएकाले कम बजेटका कारण घरको पूरा काम र मर्मत सम्भार गर्न नसक्नेहरुको विषयमा ठोस निर्णय केही दिनमै गर्ने बताए ।
साथै पानी बिजुलीमा समेत आफुहरुले सहयोग गर्ने प्रतिबद्धता ढकालले गरे ।