बुटवल-बुटवल उपमहानगरपालिकामा अनलाइन मार्फत व्यक्तिगत घटना दर्ता सुरु गरेयता ३ हजार ६ सय १६ परिवार थपिएका छन्।
ती परिवारका १३ हजार ७ सय १ जना परिवारका सदस्य विभिन्न ठाउँबाट बुटवलमा बसाइसराइ गरेर आएका हुन्।
उपमहानगरमा २०७२ चैत्रबाट अनलाईन माध्यमबाट व्यक्तिगत घटना दर्ता सुरु भएको हो। केही वडाहरुमा भने ढिला गरी अनलाईन दर्ता सुरु भएको थियो।
यो संख्या बसाइ सरी आएर दर्ता गर्नेको संख्या मात्र हो। बुटवलमै घर बनाएर बसाइसरी आएर पनि दर्ता नगर्नेको संख्या पनि धेरै भएको अनुमान बुटवल उपमहानगरको छ।
साढे ४ वर्षको दर्तालाई नै आधार मान्ने हो भने बुटवलबाट बसाइ सरेर जाने परिवारको संख्या १ हजार १ सय ५८ रहेको छ।
ती परिवारमा ४ हजार ११ सदस्य रहेको उपमहानगरको उल्लेख छ। बसाइ सरी आएको र गएकालाई आधार मान्दा बुटवलमा २ हजार ४ सय ५८ परिवारका ९ हजार ६ सय ९० जना बढेका छन्।
यस्तै अनलाइन माध्यमबाट व्यक्तीगत घट्ना दर्ता सुरु भएपछि बुटवल उपमहानगरपालिकामा जन्म दर्ता संख्या ९ हजार ९ सय ८ वटा रहेको छ। त्यसै गरी २ हजार २ सय ५१ जनाको मृत्यु भएको विवरण दर्ता भएको छ।
साढे ४ वर्ष यता बुटवलमा ४ हजार १ सय ७ जोडी विवाह बन्धनमा बाधिएर विवाह दर्ता गराएका छन् । १ सय ९१ जोडी अलग भएर सम्बन्ध विच्छेदका उपमहानगरमा सम्बन्ध विच्छेदको घटना दर्ता गरेका छन्।