काठमाडौं-उच्च अदालत दिपायलले कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार ठहरिएका रेशमलाल चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ। यसअघि तीन वर्ष कैद सजाय पाएर छुटिसकेका लक्ष्मण थारुलाई पनि उच्च अदालतले जन्मकैदकै फैसला सुनाएको छ।
टिकापुर घटनामा मुछिएका रेशमलाल सहित ७ जनाको फैसला सदर भएको हो । उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवर र सिताराम मण्डलको संयुक्त इजलाशले जिल्ला अदालत कैलालीको फैसला सदर गरेको हो ।
उच्चले जिल्लाको फैसला सदर गर्दै भनेको छ, “मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं। को कसुरमा सोही महलको १३, (३) जन्मकैद हुने र सो महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय समेत हुने ठहयाई भएको सुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेकै देखिदा सदर हुने ठहर छ।”
०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो । सो विरुद्ध उनी पुनरावेदन गएका थिए । जनतका समाजवादी पार्टीका सांसद समेत रहेका चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।