काठमाडौं - देशभरको तापक्रम घट्न थालेसँगै चिसो बढेको छ ।
तराईका जिल्लामा बिहानैदेखि लागेकाे बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बन्न थालेको छ । पुस महिना लागेसँगै देशभरि चिसो बढेको हो ।
तराईका जिल्लामा अत्यन्तै चिसो हुने र घाम नलाग्ने भए पनि अहिले नै त्यसलाई शीतलहर भने भन्न नमिल्ने मौसमविद् सजिना शाक्यले बताए ।
दिउँसोको समयमा केहीबेर हुस्सु कुहिरो हट्ने गरेकाले शीतलहर भन्न नमिल्ने मौसमविद् शाक्यले बताउनुभयो । शीतलहर चल्नका लागि केही दिनदेखि लगातार घाम नलाग्ने, बाक्लो हुस्सु र कुहिरो लाग्ने, शिरशिर हावा चल्ने र अत्याधिक चिसो महशुस हुनुपर्ने उनको भनाइ छ । अहिले बिहानदेखि लागेको हुस्सु कुहिरो दिउँसोको समयमा भने केही हट्ने गरेकाले पनि शीतलहर भन्न नमिल्ने उनले बताए।
तराईमा शीतलहर सुरु नभए पनि प्रारम्भिक चरणमा देखापर्ने अवस्था भने बिस्तारै देखिन सुरु भएको मौसमविद्ले बताएका छन् ।
तराईका जिल्लामा बिहानदेखि लागेको हुस्सु कुहिरो दिउँसोको समयमा भने केही हट्ने गरेको छ । तर, फेरि बेलुका हुस्सु लाग्ने गरेको मौसमविद् शाक्यले बताए । चिसो बढेसँगै धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम घटेको छ ।
धनगढीमा हिजोको अधिकतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो । आज १४ देखि १६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । यस्तै, नेपालगञ्जको पनि अधिकतम तापक्रम घटेर १६ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौको मौसम भने आज हिजोको जस्तै छ ।
आज न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ । जुम्लाको तापक्रम भने माइनस ६ दशमलव ४ डिग्री सेल्सियस छ।
देशभर तापक्रम घट्न थालेकाले स्वास्थ्यको ख्याल गर्न मौसमविद्को सुझाव छ । अब झन् चिसो अझै बढ्दै जाने भएकाले तातो न्यानो गरेर बस्न मौसमविद्ले सुझाव दिएका हुन् ।