बुटवल । टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका दाङका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले आइसियूमा उपचाररत् थापाको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको जानकारी दिए ।
शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट खसेर उनी गम्भीर घाइते भएका थिए । थापा टिकटक बनाउन भन्दै बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए। लामो समय झुन्डिएपछि हात गलेर उनी झन्डै २० मिटर तल बगरमा खसेका थिए ।